ट्र्याक खोलेको १५ वर्षपछि सडकको स्तरोन्नति सुरु



सल्यान। 

ट्र्याक खोलेको १५ वर्षपछि सल्यानको सिद्ध कुमाख गाउँपालिका ३ हुँदै ढोरचौर –छापडाँडा –सल्ली बजार सडक स्तरोन्नतिको काम सुरु गरिएको छ । प्रदेश राजधानी जोड्ने ढोरचौर– छापडाँडा–डाँडाकटेरी– मैदुपोखरी– सल्ली बजार सडकको स्तरोन्नतिको काम सुरु भएको हो ।

कर्णाली प्रदेश सरकारको बुहवर्षिय योजना अन्तर्गत पूर्वाधार विकास कार्यालय सल्यानले १५ करोड ५९ लाखको लागतमा स्तरोन्नतिको काम सुरु गरेको हो ।

२०६४ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत ट्याक खोलिएको झन्डै १५ वर्ष पछि स्तरोन्नतिको कामले पूर्णता पाएको हो । २०८१ पुस १३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी खरीढुंगा हमाल जे.भीले सडक स्तरोन्नतिको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इ. रुपक रावलले जानकारी दिनु भयो । १३ दशमलव ८ किलोमिटर ग्राभेल र १२ किलोमिटर डबल कटिङ गरी सडकको स्तरोन्नति गरिने उहाँको भनाई छ । प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत यस सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाइने रावलले बताउनु भयो ।

सोमबार सडकको शिलान्यास गर्दै कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले विकास र उत्पादनलाई साथसाथै जोडेर लग्न सके उक्त विकास दिगो हुने बताउनु भयो । सडक खन्नु मात्र विकास नभई किसानहरुले उत्पादनमा वृद्धि गर्नु र उक्त उत्पादन सहज रुपमा बजारीकरण गर्नु सबैभन्दा ठूलो विकास त्यो हुने उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘आर्थिक उपार्जनसँग विकासलाई जोड्न सकिएन भने त्यसले झनै मानिलाई परनिर्भर बनाउँछ । त्यस कारण जनताको आर्थिक उपार्जनमा वृद्धि भयो भएन त्यसलाई मापन गर्न जरुरी छ ।’

बुहवर्षीय योजना अन्तर्गत प्रदेश राजधानी जोड्न छोटो दूरीको सडकको काम अघि बढेको मन्त्री शर्माको भनाई छ । उहाँले भन्नु भयो ‘वैकल्पिक मार्गका रुपमा यो सडकले धेरै लाभ दिने प्रदेश सरकारको विश्वास छ ।’

यस्तै सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले निर्माण कम्पनीले परिमाणत्मक र गुणात्मक दुवै काम प्रभावकारी रुपमा अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले तोकिएको समयमै छिटो र छरितो काम गर्न आग्रह गर्नुभयो । बाह्रमास गाडी चल्ने सकड नहुँदा जनताले समस्या भोगेका कारण समयमै सम्पन्न हुने गरी प्रतिफल देखिने गरी काम गर्नुपर्ने अध्यक्ष गिरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्