बीआरआईलाई सफल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त



काठमाडौं।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायण्काजी श्रेष्ठले चीनको बेल्ट एण्ड रोड (बीआरआई) लाई सफल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले बिहीबार राजधानीमा आयोजना गरेको ‘चाइन बेल्ट एण्ड रोड इनिसियटिभको १० : नेपालको अनुभव’ विषयक कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बीआरआई परियोजना कार्यान्वयनमा केही ढिलाई भएको स्वीकार गर्दै त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालले सो परियोजनाअन्तर्गत चीनबाट ठूला पूर्वाधारको विकासमा सहयोग र सहकार्यको अपेक्षा गरेको र यसका लािग दुई मुलुकबीच विभिन्न मोडालिटीको विषयमा छलफल भइरहेको जानकारी समेत दिनुभयो । उहाँले बीआरआईअन्र्तगतको ९ वटा परियोजनामध्ये ट्रान्सहिमालय कनेक्टिभिटीले नेपालीलाई आकर्षित गरेको जिकीर गर्दै भन्नुभयो– ‘यसले पर्यटन प्रबद्र्धन, रोजगारी सिर्जनाका साथै वितिय खाल्डो पुर्न सहयोग गर्नेमा हामी आशावादी छौं ।’

उपप्रधानमन्त्री श्रेष्ठले बीआरआईमा सहभागी भएर नेपाल चिनियाँ ऋणको पासोमा पर्ने भन्ने भ्रमात्मक प्रचारबाट नेपाल प्रभावित नभएको स्पष्टिकरण दिंदै भन्नुभयो– ‘हामी कुनै भ्रमात्मक प्रचारमा पर्ने छैनौं । हामी मुलुकको विकासमा प्रतिकुल असर पर्ने वा आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा नेपाल पर्नेछैन ।’

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भुराजनीतिक समस्याका कारण बीआरआईअन्तर्गतको परियोजनाहरू अघि बढाउन समस्या आएको टिप्पणी गर्दै त्यसलाई तत्काल अघि बढाउन सरकारसँग माग गर्नुभयो । उहाँले अब चीनसँग लगानीको मोडालिटीबारे तत्काल छलफल अघि बढाउनुपर्ने आवश्यक्तामा जोड दिंदै भन्नुभयो– ‘बीआरआईमा प्रस्तावित हाम्रा जति पनि योजनाहरु छन्, कम्तीमा तीनको डकुमेन्टहरू सेयर गर्ने, पेस गर्ने र अब फण्डिङ मोडालिटीको विषयमा पनि चीनसँग बसेर कुरा गर्ने बेला भयो भन्ने मलाई लाग्दछ । सो परियोजनाबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्छ ।’

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपालको दीगो विकासमा बीआरआई परियोजना महत्वपूर्ण अवसर हुने जिकिर गर्दै भन्नुभयो– ‘बीआरआई आर्थिक सम्बृद्धिको मञ्च हो, भुराजनीतिको मञ्च होइन ।’ उहाँले बीआरआईमा नेपालले सक्रिय सहभागिता जनाओस् भन्ने चीनको चाहना रहेकोमा जोड दिंदै हरित उर्जा, जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्