उत्कृष्ट चालकलाई १ लाख ५ हजार 

‘माग पुरा नभए मुलुक ठप्प पार्छौ’ – भीम ज्वाला राई



काभ्रे। 

फागु पूर्णिमाको अवसर पारी मजदुर संगठनहरुले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट चालक, सह चालक र ज्येष्ठ यातायात मजदुरहरू सम्मानित भएका छन् । नगद, दोसल्ला, चाँदीको तक्मा सहित मजदुरहरू सम्मानित भएका हुन् ।

धुलिखेल र पनौतीमा फरक फरक संगठनहरुले आयोजना गरेको कार्यक्रममा काभ्रे काठमाडौँ रुट भई सचालन हुने बसका १३ जना चालक तथा ८ जना सहचालक सम्मानित भएका छन् । सम्मानित हुनेहरु मध्ये पनौतीमा दुई र धुलिखेलमा दुई दुई जना गरी चार जना ज्येष्ठ यातायात मजदुर रहेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाईले २४ औ र २५ औ ज्येष्ठ यातायात मजदुर सम्मान अन्तर्गत २० वर्ष देखि संगठनमा आबद्ध भई निरन्तर सक्रिय चालक कृष्णबहादुर रञ्जित र दीपक वैद्यलाई नगद १ लाख ५ हजार सहित सम्मान गरेको छ ।

यस अघि २३ जना चालक नगद १ लाख सहित सम्मानित भइसकेका छन् । साथै सोही सङ्गठनले उत्कृष्ट चालकका रुपमा दुर्गाबहादुर श्रेष्ठ, इन्द्रबहादुर मगर, ज्ञानेन्द्र अधिकारी र रमेश श्रेष्ठलाई सम्मान गरेको छ । उत्कृष्ट परिचालकका रुपममा जीवन श्रेष्ठ, गोमनलक्ष्मी प्रधान, तीर्थराज खत्री, नरेन्द्र शिवभक्ति र संगम प्रधानलाई सम्मान गरिएको अध्यक्ष अर्जुन लामाले बताउनु भयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट इकाईले ज्येष्ठ यातायात मजदुर सदस्य राजेन्द्र न्यौपाने र रामकृष्ण सापकोटा दुई जनालाई नगद ५० हजार सहित सम्मान गरेको छ । त्यस्तै चालक दीपक ब्रम्हलवट, माधवनारायण घुल्लु, उमेश मानन्धर, निरोज बस्नेत, राजेन्द्र देशार सम्मानित भएका छन् । उनिहरुले डेडतोला चाँदीको तक्मा सहित ट्रफि प्राप्त गरेका छन् । त्यस्तै सह चालक दिपेश भुजेल, वासुदेव घिमिरे र सुवास तामाङलाई एक तोला चाँदी सहित ट्रफिले सम्मान गरिएको अध्यक्ष सुनिल धाँजुले बताउनु भयो । यस अघि सङ्गठनले चार जना मजदुरहरूलाई नगद १ लाख सहित सम्मान गरेको थियो । दुर्घटना नगराउने, अनुशासित, संगठनमा निरन्तर सक्रिय र क्रियाशील मजदुरहरूलाई थप प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको संगठनका अध्यक्षहरुले बताएका छन् ।

धुलिखेलमा आयोजित १६ औ अधिबेशन तथा सम्मान कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राईले मजदुर संगठनहरुको आन्दोलन फिर्ता नभएर स्थगन मात्रै भएको बताउनु भयो । ‘सरकारले मजदुर सङ्गठनले राखेका माग पुरा गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेको छ’–अध्यक्ष भिमज्वाला राईले भन्नुभयो–‘सरकारको काम कारबाही र प्रतिबद्धता कार्यान्वयनका लागि मजदुर संगठनहरु पर्ख र हेरको अवस्थामा छौँ ।’ मजदुर संगठनहरुले एकै दिन तीन पटक ट्राफिक प्रहरीले कारबाही गरी प्रत्येक पटक १ हजार ५ सयका दरले जरिवाना लिने, लाइसेन्स निलम्बन गर्ने तथा सवारी दुर्घटना सम्बन्धी कानुनको दफा १६१(२) संशोधन नगरी चालकलाई लार्पवाही रुपले दुर्घटना गराएको भन्दै ३ वर्ष देखि ९ वर्षसम्म जेल राख्ने व्यवस्था हटाउन सरकारलाई अल्टिमेटम लिएको अध्यक्ष राईले बताउनु भयो ।

पार्किङको व्यवस्था नहुने, सडक सहज नहुने, यात्रुमैत्री व्यवस्थापन गर्न सरकार नसक्ने अनि मजदुरलाई मात्रै कारबाही गरेर दुर्घटना न्यूनीकरण तथा सार्वजनिक यातायात व्यवस्थित हुन नसक्ने बताउँदै अध्यक्ष राईले मजदुरको आन्दोलन र वार्ताबाट जरिवाना ५ सयमा ल्याएको तथा लाइसेन्स निलम्बन गर्ने व्यवस्था हटाउन सहमत भएको मजदुरहरूलाई जानकारी गराउनु भयो । सार्वजनिक यातायात यात्रु मैत्री हुनु पर्ने बताउँदै अध्यक्ष राईले सवारी लाइसेन्स लिने प्रक्रियामै समस्या भएकाले त्यसको सुधारका लागि पनि सरकारसँग माग गर्नु भयो । मजदुरका सबै माग पुरा नभए मुलुक ठप्प पार्ने चेतावनी अध्यक्ष राईले दिनुभयो ।

‘सार्वजनिक यातायातमा १० खर्ब भन्दा धेरै लगानी छ, मजदुर, लगानीकर्ता र सार्वजनिक यातायात प्रयोगकर्ता सबै असन्तुष्ट छन्’–अध्यक्ष राईले भन्नुभयो–‘राज्यका सबै कानुन मानेर गुणस्तरीय सेवा दिन मजदुर तयार छन् । तर मजदुरलाई दोस्रो दर्जाका रुपमा हेर्ने सरकारी दृष्टिकोण बदलिनु आवश्यक छ ।’

कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष एवं नेपालको दोस्रो महिला चालक विष्णु तामाङ, महासचिव केशव थापा, इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहोरा, ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवाल, संगठनका बागमती प्रदेश अध्यक्ष केशव थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिम्सिना, काभ्रे बस सेवा प्रणालीका अध्यक्ष वर्ण शाक्य, गणेश हिमाल तराई यातायात सेवा प्रणालीका अध्यक्ष आत्मराम थापा, मजदुर नेता केशवमणी पौड्याल, संगठनका अध्यक्ष अर्जुन लामा, उपाध्यक्ष धनबहादुर ठकुरी, सचिव होमबहादुर श्रेष्ठ लगायतले मजदुरका समस्या समाधानमा सरकार र सरोकारवाला निकाय उदासीन रहेको बताएका थिए ।

पनौतीमा आयोजित कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले मजदुरहरुका तमाम समस्याका बाबजुद नागरिकहरुलाई सहज सेवा दिइरहेको बताउनु भयो । पािर्कङ्ग, ट्राफिक नियम तथा क्षेत्र, लाइसेन्स प्राप्ति प्रक्रिया र दुर्घटना भई सके पछिको अवस्थामा मजदुरलाई गरिने ब्यवहार र दृष्टिकोण फरक भएकाले मजदुरहरू सङ्कटमा परेको उपाध्यक्ष घिमिरेले बताउनु भयो । यसका बाबजुद पनि मजदुरहरूले सेवा दिने क्रममा पालना गर्नु पर्ने भद्रता, शिष्टता र अनुशासन पालना गर्न उपाध्यक्ष घिमिरेले निर्देशन दिनु भयो । पनौती नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दीपक दाहालले मजदुरहरूले गर्ने श्रम र सिपका आधारमा मात्रै मुलुकको आर्थिक उन्नति र समृद्धि हुने बताउनु भयो । श्रमको सम्मान सबैले गर्नु पर्ने र मजदुरका हक हित र मजदुरहरूले भोगेका समस्या समाधानमा सबै क्षेत्रले उत्तिकै दायित्व निर्वाह गर्नु पर्ने अध्यक्ष दाहालले बताउनु भयो ।

अध्यक्ष सुनिल धाँजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहोरा, ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवाल, संगठनका केन्द्रीय सदस्य कमल सापकोटा, बागमती प्रदेश उपाध्यक्ष वेदप्रसाद घिमिरे, सचिव मीनकुमार श्रेष्ठ, काभ्रे पुण्यवती प्रणालीका कार्यालय प्रमुख शुभ राज जोशी, मजदुर नेता विदुर खत्री, संगठनका उपाध्यक्ष जगबहादुर श्रेष्ठ, सचिव शेषनाथ घिमिरे लगायतले संगठनका विषयमा धारणा राख्नु भएको थियो । बनेपा र धुलिखेल दुवै संगठनहरुमा नयाँ नेतृत्वका लागि प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्