जाजरकोटको शैक्षिक सुधार गर्न भौतिक संरचना निर्माण कार्यमा तीव्रता



सुर्खेत । जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधारका लागि भौतिक संरचनाको निर्माण कार्यले तीव्रता पाएको छ । जसअनुसार खानेपानी, शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरू पढ्ने वातावरण सिर्जना गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो । बालबालिकालाई सुरक्षित वातावरणमा गुणस्तरिया शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिएर निर्माण गरिएको अभियानका वरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिनुभयो ।

सन् २०१९ बाट शुरू भएको उक्त परियोजनाले सन् २०२२ सम्ममा नयाँ ५ वटा विद्यालयका भवन निर्माण गरेको उनले जानकारी दिए । निर्माण भएका विद्यालयहरूमा वडा नम्बर –३ मा २, वडा नम्वर–५ मा १ र वडा नम्वर–६ मा २ वटा रहेका छन् । त्यस्तै जीर्ण १७ वटा विद्यालय मर्मत गरी पठनपाठनमा बालबालिकाका लागि सहजता अपनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले जानकारी दिनुभयो ।

यसैगरी, पालिकाभित्र व्यवस्थित, सुरक्षित र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ भने त्यस्तै विद्यालयमा बालमैत्री धाराहरूसमेत निर्माण गरिएको छ । पाठकका अनुसार २० वटा बालमैत्री धारा निर्माण गरिएको छ ।

विद्यालयको भित्री भाग अर्थात् कक्षाकोठा मर्मत तथा व्यवस्थापन समेत गरिएको छ । विद्यार्थीहरूलाई बस्न सहज होस् भन्नका लागि कक्षाकोठा व्यवस्थापनका लागि ६ वटा विद्यालयमा काम गरिएको उहाँले जानकारी दिनुभयो । -न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्