सिन्धुली ।
स्थानीय सरकारको औपचारिक काम कारवाही सुरु भएको एक दशक पछि सिन्धुलीको घ्याङलेख गाउँपालिका बासी नागरिकहरुले सुविधा सम्पन्न भव्य कार्यालयबाट प्रशासनिक सेवा सुविधा पाउने भएका छन् ।
गाउँपालिकाको आफ्नै कार्यालय भवन निर्माण कार्य सम्पन्न भए पछि नवनिर्मित भवनबाट नागरिकले प्रशासनिक सेवा सुविधा पाउने भएका हुन् ।
गाउँपालिकाले नवनिर्मित सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा प्रवाह गर्न आगामी मंसिर ९ गते उद्घाटन गर्ने जनाएको छ । भवन उद्घाटन भए पछि तत्कालै सोही नवनिर्मित भवनबाट गाउँपालिकाको सेवा प्रवाह हुनेछ ।
ठेकेदार कम्पनीको लापरवाही लगाएत विविध समस्याले गाउँपालिकाको भवन निर्माण कार्यमा ढिलाई भइरहेको थियो । गाउँपालिकाको अनुसार कुल ६ करोड ९५ लाख लागतमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असोज देखि भवन निर्माणको काम सुरु भएको थियो ।
तर ठकेदार कम्पनी पिपि इश्वरी जे.भीलेले तीन पटक सम्म म्याद थप गरी पाँच बर्ष लगाएर भवनको निर्माण कार्य सम्पन्न गरेको हो ।
ढिलै भए पनि भवन निर्माण कार्य सम्पन्न गरी सोही भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी भए पछि घ्याङलेख गाउँपालिका बासी नागरिकहरु उत्साहित भएका छन् ।
यता निर्माण कार्यमा ढिलाई हुदाँ स्थानीय नागरिकहरुको गुनासो खेपी रहेको गाउँपालिकाको कार्यालयले भवनको उद्घाटनमा भने केही नयाँ अभ्यास गर्न खोजेको छ ।
घ्याङलेख गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष रोसन कुमार भ्लोनका अनुसार भवन निर्माणको लागि जग्गा दान गर्ने दाताहरु मध्येको जेष्ठ सदस्य ८२ बर्षिया औतार सिङ भ्लोनबाट उद्घाटन गरिनेछ । ८२ बर्षिया जेष्ठ नागरिक भ्लोन वडा नम्बर २ का वडाअध्यक्षको बुवा हुनुहुन्छ ।
थोरै लागत वा सामान्य कार्यक्रम भए पनि ठूलो तहका नेता, जनप्रतिनिधिहरु ल्याएर उद्घाटन तथा शिलान्यास गर्ने पुरानो परम्परा तोड्दै गाउँपालिकाले जेष्ठ नागरिकबाट भवनको उद्घाटन गर्र्न लागेको हो ।








तपाईंको विचार लेख्नुहोस्