शान्ति सम्झौता पूर्ण कार्यान्वयन गर्न प्रचण्डको आग्रह


काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताको पूर्ण कार्यान्वयन गर्दै द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्न सरकार र सरोकारवाला पक्षसँग आग्रह गरेका छन् ।

शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै प्रचण्डले सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका हुन् ।

उनले शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको उल्लेख गरेका छन् ।

तर सम्झौताका प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनले द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने काम शीघ्र पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनु राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।