तीन पुस्तासम्म लालपुर्जा नभएका सिन्धुलीका भूमिहीनले लालपुर्जा पाएपछि हर्षित



सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ का १७ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको हो ।

सोमवार आयोजना गरिएको एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुभएको छ ।

हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ का ७० बर्षिया पदम बहादुर राईको तीन पुस्ताले एक टुक्रा जमिनको लालपुर्जा आफ्नो नाममा पाएका थिएनन् । तर जिन्दगीको उत्तरार्धमा आफ्नै नामको जग्गाधनी पुर्जा पाएपछि उहाँको हर्षले सिमा नाघेको छ ।

‘बाजेको पाला देखि हामीले लालपुर्जा पाएका थिएनौं । तीन पुस्ता विति सक्यो यतिकै जिन्दगी वित्छकी भन्ने लागेको थियो । तर अहिले लालपुर्जा पाए । धेरै खुसी छु ’ उहाँले भन्नुभयो ।

दैनिक ज्याला मजदुरी गरेर जिन्दगी गुजार्दै आएका हरिहरपुरगढी गाउँपालिका ३ कै बिर बहादुर दमाईको पनि यस अघि सम्म एक टुक्रा जमिनको पनि लालपुर्जा थिएन । तर आयोगले उनले भोगचलन गर्दै आएको जमिनको लालपुर्जा दिलाएपछि सुखीले दङ्ग छन् । उहाँहरु मात्रै होईन आफ्नो नाममा लालपुर्जा पाएपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूमा खुसीयाली छाएको छ । लालपुर्जा वितरण गर्दै प्रतिनिधिसभा सदस्य दाहालले यस अघि बनेका कुनै पनि आयोगहरुले काम गर्न नसकेको तर यस पटकको आयोगले देशभरमै पहिलो पटक सिन्धुलीबाट लालपुर्जा वितरणको कार्य सुरु गरेर इतिहास रचेको बताउनुभयो ।

उहाँले भुमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्दा नागरिकले जग्गा पाउनुका साथै राज्यको ढुकुटीमा अरबौं राजश्व पनि संकलन हुने बताउनुभयो । उहाँले अहिले सम्म बनेका अधिकांश आयोगहरु विना काम अनावश्यक खर्च बढाउने मात्र भएकाले त्यस्ता काम नै गर्न नसकेका आयोगहरु खारेज गरेर राज्य माथिको आर्थिक भार घटाउनुपर्ने धारण राख्नुभयो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष बाबुराम राईले जिल्लाका केही स्थानिय तहहरुले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरणमा राजनितिक प्रतिसोध राखेका कारण काम गर्न समस्या भएको बताउनुभयो ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अहिलेको संरचना अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने कार्यमा सबैभन्दाबढी जिम्मेवार स्थानिय सरकार रहेकाले सोही अनुसार जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले निक्कै सर्घष गरेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न सफल भएको बताउनुभयो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीका सदस्य सचिव सरोज बहादुर श्रेष्ठले सिन्धुली जिल्लामा हाल सम्म दुधौली नगरपालिकाका १ सय २ जना र हरिहपुरगढीका १७ जना गरी जम्मा ११९ जनालाई लालपुर्जा वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार सिन्धुलीको नौ वटा स्थानिय तहमा ८ सय ८६ जना भूमिहीन दलित, १ हजार ६ सय ३१ जना भूमिहीन सुकुम्बासी र ३१ हजार ९ सय ९६ जना अव्यवस्थित बसोबासीहरूको निवेदन प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्