डेढ महिनामै सरकारबाट हात झिक्यो रास्वपाले

पत्रकार सम्मेलनमा रविको आक्रोशपूर्ण अभिव्यक्ति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सातदलीय गठबन्धनको प्रचण्ड सरकारबाट डेढ महिना नपुग्दै बाहिरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकको निर्णयपछि पत्रकार सम्मेलन गरेर सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राखेर सरकारबाट बाहिरिएको घोषणा गर्नुभयो । रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारमा धक्का पुगेको छ । नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले सांसद र मन्त्री पद नरहने निर्णय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः नागरिकता प्रमाणपत्र लिएर गृहकै दौडमा लाग्नुभएको थियो ।

उहाँले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुक्रबार नै बैठक बसेर सरकार छाड्ने चेतावनी दिए पनि प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि दुई दिन पर्खने निर्णय गरेको थियो । गैरसांसदलाई पुनः मन्त्री दिन नसकिने तर्कसहित नेकपा माओवादीले गृह मन्त्रालय आफैंले राख्ने बताएसँगै लामिछाने गृह मन्त्रालयकै लागि भौँतारिँदै नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेट्न पटकपटक पुग्नुभएको थियो ।

आइतबार प्रधानमन्त्री प्रचण्डले गृह नदिने कुरा बताइसकेपछि उक्त दलले पत्रकार सम्मेलन गरेर सरकार छाडेको हो । रविको सांसद र मन्त्री दुवै पद खारेज हुने फैसला गरेपछि विगत एक सातादेखि मन्त्रीविहीन भएको गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्नुभएको छ । रास्वपाबाट मन्त्री बनेका शिक्षामन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की सरकारबाट बाहिरिएसँगै ती मन्त्रालयहरू मन्त्रीविहीन बनेका छन् । प्रधानमन्त्री प्रचण्डले भने रास्वपाले सरकार नछाड्ने भन्दै मन्त्रालय साटेर लिन अनुरोध गर्नुभएको थियो ।

प्रधानमन्त्रीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा दुई मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी थियो । जसअनुसार वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयमा मात्रै नियुक्त गर्न बाँकी थियो । रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ । अब वर्तमान सरकारमा पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेका छन् । रास्वपाभित्र सरकार छाड्न नहुने आवाज बलियो रहे पनि गृह नपाउने र रवि मन्त्री नहुने करिब पक्का भएपछि उक्त अनुरोधलाई स्वीकार नगरेको समेत पार्टीकै नेताहरू बताउँछन् ।

गत साउनमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिरमा भएको आमनिर्वाचनबाट २० सिट प्रप्त गरेको थियो । आम नागरिकले आशा गरेको उक्त दल र सभापति लामिछानेको गृहमन्त्री मोह र मन्त्री नपाएपछिको उनको आक्रोशपूर्ण प्रस्तुतिप्रति नागरिकले हेर्ने दृष्टिकोणमा भिन्नता आएको उनकै कार्यकर्ताहरू बताउँछन् । पार्टीभित्र रविको एकाधिकारवादी प्रवृत्ति र आक्रोशपूर्ण अभिव्यक्तिले रास्वपालाई फाइदा नगर्ने रास्वापाका एक केन्द्रीय सदस्यले नेपाल समाचारपत्रलाई बताए । पार्टीको आन्तरिक बैठकमा सूचना चुहाएको भन्दै केन्द्रीय समिति र सांसदहरूलाई समेत बैठकमा मोबाइल बन्द नै गरेको समेत उनले जानकारी दिए ।

शुक्रबार मात्रै संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सरकारमा किन गयो र किन बाहिरिँदै छ भनेर जनतालाई प्रस्ट पार्नुपर्ने बताउनुभएको थियो । शिक्षामन्त्री शिशिर खनालको समेत सरकार छाड्न नहुने मत थियो । पार्टी बैठकबाटै निर्णय भइसकेपछि त्यसको जिम्मेवारी सबैले लिनुपर्ने नेताहरू बताउँछन् । सरकारबाट बाहिरिने निर्णय सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा सबै सञ्चारमाध्यमहरू र खासखास पत्रकारहरूको नामै लिएर पार्टी सभापति लामिछानेले आक्रोशयुक्त गाली गर्नुभयो ।

अझै पनि गृहमन्त्री पाए पुनः फर्कन्छु भन्दै पटकपटक बोलेका लामिछानेले गृहमन्त्री नपाएको झोँक पत्रकारहरूलाई फेर्नुभयो । डेढ घण्टा बढी बोलेर उहाँले सबैभन्दा बढी नेपाली सञ्चारमाध्यमलाई तार्गेट गर्नुभयो । उहाँले मूलधारका पत्रिका र अनलाइनका सम्पादकहरूलाई १२ भाइको नाम दिएर पटकपटक आक्रोश व्यक्त गर्नुभयो । लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजानेसमेत बताउनुभएको छ ।

यसैबीच गृहमन्त्री नदिने निर्णयपछि सरकारबाट रास्वपाको बहिर्गमनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने बताउनुभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै दाहालले भन्नुभयो– ‘राष्ट्रिय सहमति नै गरौं भनी राखेको छु भने त हाम्रो सत्ता साझेदारबीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो । अदालतको निर्णयपछि पक्कै पनि उहाँहरूलाई केही असहज त भएकै थियो । अब उहाँसँग (रवि लामिछानेसँँग) फेरि भेटेर कुरा गर्छु ।’ रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको भन्दै उहाँले सातदलीय सत्ता गठबन्धन कायमै रहेको बताउनुभयो ।

‘मैले उहाँहरूले गरेको पूरै निर्णय हेर्न पाएको छैन । बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ताचाहिँ होइन मन्त्रीहरू बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं’ –प्रधानमन्त्रीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्