रविले गृहमन्त्री नपाउने पक्का, रास्वपा सरकारबाट बाहिरिँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् । आज (बिहान) प्रधानमन्त्री र ओलीसँग रविले भेटवार्ता गरेका हुन् ।

भेटवार्ताको क्रममा प्रधानमन्त्रीसँग रविले आफूलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न आग्रह गरेको स्रोत बताउँछ । उनले रविलाई गृहमन्त्रीमा नियुक्त नगर्ने अडान दोहोर्याएपछि रास्वपा निर्णायक मोडमा पुगेको हो ।

तर, एमाले अध्यक्ष ओलीसँग रविले भेट नगरेको उनका प्रेस सहयोगी रामशरण बजाइले जिकिर गरे ।

प्रचण्डले रास्वपा सभापति रविलाई गृह मन्त्रालयमा फर्काउन नचाहेपछि निष्कर्षमा पुग्न पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केहीबेर अघिदेखि बसेको छ । प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय लिनेगरी पार्र्टी केन्द्रीय कार्यालयमा केहीबेर अघिदेखि बैठक बसेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार, ‘यसअघि पार्टी सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा बुझाएर नेपाली नागरिकता बिउँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उहाँको सांसद पद खारेज गर्योे । सांसद पद खारेज भएसँगै सभापतिजीले गृहमन्त्री पदबाट राजीनामा दिनुभयो । त्यसपछि रिक्त रहेको गृह मन्त्रालयमा हाम्रै पार्टीले पाउनुपर्छ भन्ने हो । तर, प्रधानमन्त्रीज्यूले दिन मानिरहनु भएको छैन । यसर्थ हामी सकभर सरकारबाट बाहिरिने निर्णय गर्छौँ ।’

हिजो (शनिबार) राति ११ बजेसम्म बसेको बैठक विनानिश्कर्ष टुंगिएको थियो । रास्वपाले आजै विशेष पत्रकार सम्मेलन पनि गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्