करान आईपीएलका सर्वाधिक महंगा खेलाडी



नयाँ दिल्ली, (एजेन्सी) । 

इंग्ल्याण्डका साम करान इन्डियन प्रिमियर लिग (आईपीएल) कै इतिहासमा सबैभन्दा महँगो खेलाडी बनेका छन् । लिलामी खरीदमा करानलाई पञ्जाब किंग्सले १.८५ मिलियन पाउण्डमा किनेको हो ।

६ फ्रेन्चाइजी टोलीले बोली लगाएकोमा २४ वर्षीय अलराउन्डरलाई पञ्जाबले किन्न सफल भयो । यसअघिको सबैभन्दा महँगा आईपीएल खेलाडी दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस थिए । मोरिसलाई राजस्थान रोयल्सले अप्रिल २०२१ मा १.६ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।मुम्बई इन्डियन्सले अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रीनका लागि १.७५ मिलियन पाउण्ड तिर्दा ग्रीन सर्वाधिक महँगा खेलाडी बने । तर, शुक्रबार नै करानको बोली तय हुँदा ग्रीनको रेकर्ड पनि भंग भएको थियो ।

यस वर्षको टी–ट्वेन्टी विश्वकपमा इङ्ल्यान्डलाई डबल विश्व च्याम्पियन बनाउन मद्दत गरेपछि करानलाई प्लेयर अफ द टुर्नामेन्ट घोषित गरिएको थियो । उनले गत महिना अष्ट्रेलियामा भएको सिरिजमा ११.३८ को औसतमा १३ विकेट लिए र आफ्नो ब्याटिङमा सुधार गर्दै सच्चा अलराउन्डर बने ।

यस्तै योर्कशायरका ह्यारी ब्रुकलाई सनराइजर्स हैदरावादले १.३५ मिलियन पाउण्डमा किनेको छ । २३ वर्षीय इङ्ल्यान्डका ब्रुकले हालै पाकिस्तानमा ३–० ले टेष्ट सिरिज जित्दा टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । बायाँ हाते तेज गेंदबाज जोस लिटिल लगभग ४ लाख ५० हजार पाउन्डमा गुजरात टाइटन्सले अनुबन्ध गरेको छ । योसँगै उनी आईपीएल सम्झौता जित्ने पहिलो आयरल्याण्ड खेलाडी बने ।

प्रतिक्रिया दिनुहोस्