भन्सार छलीका २ गाडीसहित एक जना पक्राउ

0
Shares

भक्तपुर ।

भन्सार छलेर चोरी पैठारी गरी ल्याएको २ थान सवारी साधनसहित एक जना पक्राउ परेका छन् ।

भक्तपुर सूर्यविनायक नगरपालिका–९ पलासेका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)कृष्ण कोइरालाले बताउनु भयो ।

अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पलासेबाट टोएटा कम्पनीको कार र सुर्यबिनायक नगरपालिकाकै वडा नं.–८ आदर्शचोकबाट फोर्ड कम्पनीको जिप सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ओझालाई बरामद सवारी साधन सहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय काठमाडौं पठाइएको एसपी कोईरालाले जानकारी दिनुभयो ।

उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्री गर्ने उद्देश्यले राखिएको सुचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।