निर्वाचनलगत्तै पासो


कन्टेन्ट थ्रिलर जनरामा निर्मित फिल्म पासोले रिलिज डेट घोषणा गर्दै पोस्टर सार्वजनिक गरेको छ। बीआर इन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा निर्मित फिल्म निर्वाचनलगत्तै रिलिजमा आउने भएको छ।

फिल्मको निर्माण संस्थाले जानकारी गराएअनुसार फिल्म आगामी मंसिर १६ गतेबाट अल नेपाल रिलिज हुनेछ। आरबी पुनको लेखन तथा निर्देशनमा बनेको फिल्म भगवान भुजेलले निर्माण गरेका हुन्। वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुगाना र सरस्वती गुरुङ सह+निर्माता रहेको फिल्ममा रिस्ता बस्नेत, सुनिशा बजगाइ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाश मुख्य भूमिकामा छन्।

दुई अत्यन्त मिल्ने साथीलाई एक अज्ञात आपराधिक समूहले अपहरण गरेपछि उनीहरूले बाँच्नका लागि गरेको संघर्षको कथाका रूपमा बनेको फिल्मको नेट कलेक्सनको १५ प्रतिशत रकम धादिध्रमा निर्माण हुन गइरहेको जीवन विज्ञान धाम निर्माणार्थ प्रदान गरिने निर्माता भगवान भुजेलले जानकारी गराएका छन्। फिल्म रिच इन्टरटेन्मेन्टले काठमाडौं र एफडी कम्पनीले काठमाडौंबाहिर वितरण गर्नेछ।