श्रीमान् ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा !



बाँके । 

पैसाका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ । नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन् । श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटाहरू बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन् । कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम लिन्छन् ।

केही दिनसम्म चलेको यो घटना प्रहरीकहाँ आइपुग्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । श्रीमती भनिएकी युवती त्यो श्रीमान् बनेकी युवतीलाई छोड्न चाहँदिनन् । घर परिवारका सदस्यले आएर सम्झाउँदासम्म उनीहरू छुटिन चाहेनन् । युवकको जस्तो छोटो कपाल काटेकी श्रीमान् भन्ने युवती विवाहित हुन् । श्रीमान् छोडेर बसेकी उनले युवतीहरूसँग दोस्ती गरेर यौन धन्दामा लगाउने गरेको पाइएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले एक कार्यक्रममा वेश्यावृत्तिको उदाहरण दिँदै यो घटना सार्वजनिक गर्नुभएको हो । एसपी अधिकारीका अनुसार, नेपालगञ्जमा वेश्यावृत्तिका अनेक रूप देखिन थालेको छ । लागुऔषधको समेत कुलतमा फसेका बालिका, किशोरी यौनधन्दामा पुगेका छन् ।

एसपी अधिकारीले दुई दिनअघि राति ११ बजे नेपालगञ्ज बजारबाट केही किशोरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरू तेस्रो÷चौथोपटक प्रहरी कार्यालयमा आइपुगेको भेटिएको जानकारी दिनुभयो । ‘प्रहरीले कति समात्ने ? कति दिन राख्ने ? राख्ने ठाउँ पनि छैन, वेश्यावृत्तिमा लागेकाहरू सुध्रिएको पाइएको छैन’, एसपी अधिकारीले भन्नुभयो– ‘राती ११-१२ बजे आफ्ना छोरीहरू कहाँ जान्छन् । के गर्छन् अभिभावकले हेर्नुप¥यो ।’ सीमावर्ती शहर नेपालगञ्जमा लागुऔषध सेवन गर्ने युवतीको संख्या बढ्दो छ । भारतीय बजार रुपैडिहाबाट नेपालगञ्ज आइपुग्ने लागुऔषध सेवनकर्तामध्ये अधिक यौनकर्ममा लागेको अनुसन्धानहरू देखाएको छ ।

सहजै आइपुग्ने भारतीय ग्राहकले गर्दा यौनधन्दा अझ फस्टाएको छ । होटल या कोठा लिएर यौन धन्दा गर्ने गरिएको छ । नेपालगञ्जमा क्यासिनो, डान्सबार बढ्दै गएकाले यौन धन्दा मौलाउदै गएको छ ।लगुऔषध, यौन विकृतिले समाजलाई गाँज्दै लगेको छ । बाँकेमा एक दिनअघि मात्रै काका पर्नेले आठ वर्षीया बालिकालाई करणी प्रयास गरेका छन् । यसले बालिकाहरू आफन्तबाटै सुरक्षित छैनन् भन्ने देखाएको छ । समाज आपराधीकरण हुँदै गएको यस्ता घटनाहरूले देखाइरहेको छ । यस्ता विकृति विसंगतिका विरुद्धमा समाजका हरेक तह र तप्काका मानिस जागरुक हुन जरुरी देखिन्छ ।

यसैबीच शक्ति समूहकी संस्थापक चरिमाया तामाङले मानव बेचबिखन भारतमा मात्रै सीमित नरहेको बताउनु भएको छ । शक्ति समूहले नेपालगञ्जमा आयोजना गरेको मानव बेचबिखन न्यूनीकरणका लागि सरोकारवालासँगको कार्यशालामा बोल्दै तामाङले मानव बेचबिखनको गन्तव्यसँगै स्वरूप पनि परिवर्तन भएको बताउनुभयो ।

उहाँका अनुसार, अहिले भारतसँगै विभिन्न देशमा जोखिमपूर्ण यात्रा र बेचबिखन भइरहेको छ । नेपालमै पनि बेचबिखन भइरहेका छन् । पछिल्लो समयमा वैदेशिक रोजगारी, शिक्षा र विवाहको नाममा बेचबिखन भइरहेको छ । ‘भारतमा मात्रै होइन, तेस्रो मुलुकमा पनि रोजगारी, शिक्षा र विवाहको नाममा बेचबिखन भइरहेको छ’, तामाङले भन्नुभयो– ‘को कति बेला जोखिममा पर्छ भन्ने सकिने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्