भोटमाग्दै नेताहरु गाउँ गाउँमा, आफ्ना आवश्यकता राख्दै भोटर



डोटी।

आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका उमेदवार र राजनीतिक दलका नेताहरु अहिले यहाँका स्थानीयसँग भोटमाग्न गाउँ गाउँमा पुगेका छन् । यहाँका शहर बजार भन्दा पनि गाउँमा चुनावी सरगर्मी निकै बढेको छ । गाउँमा उम्मेदवार तथा नेताहरु आउन थालेपछि यहाँका स्थानीयवासीले पनि आफ्ना मागहरुका विषयमा नेताहरुसँग कुरा गर्न थालेका छन् ।

निर्वाचनको मैदानमा उत्रिएका उमेदवार गाउँ–गाउँमा चुनावी प्रचारका लागि पुुगेपछि स्थानीयले आफ्ना आवश्यकताका माग नेताहरुसँग राख्न थालेका छन् । दुई नगरपालिका र सात गाउँपालिका सहित नौ वटा स्थानीय तह रहेको डोटीमा अहिले जनताले चुनाव प्रचार प्रसारका लागि आएका नेताहरुसँग आफ्ना आवश्यकताका बारेमा माग राख्ने गरेको बडिकेदार गाउँपालिका–१ बिपीनगरकी स्थानीय यसोदा मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव प्रचार प्रसार तथा भोटमाग्न उमेदवार गाउँमा आउन थालेका छन्, जनताले पनि आफ्ना माग राख्दै आएका छन्, जस्ले पुरा गर्छु भन्ने बचन दिन्छ तिनैले भोट पाउने छन् ।’ नेता तथा उमेदवारसँग स्थानीयद्वारा राखिने मागमा खानेपानी, सिँचाइ घोरेटो बाटो, बिजुली, विद्यालय भवन, स्वास्थ्य चौकी, सडक सञ्जाल जोड्नेसम्मका रहेका छन्।अरु बेला कम बोल्ने स्थानीयवासीहरुले आफ्ना आवश्यकताका बारेमा खुलेरै माग राख्ने गरेको जोरायल गाउँपालिका–५ का निरज विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, गाउँमा आउने नेताहरुसँग हामीले गुणस्तरीय शिक्षाको माग राखेका छौँ, जस्ले शिक्षा, स्वास्थ्यमा सहयोग गर्छ त्यहि भोट पाउँछ ।’

यसैगरी बोगटान सडक सहित खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, हुँदै बझाङ सडक जोड्न मतदाताले उमेदवार तथा नेताहरुसँग माग गरेकोअर्का स्थानीय भरत सार्कीले बताउनुभयो । उहाँका अनुसार बिद्युत बिस्तार सहित उमेदवारलाई मतदाताले रोजगारी सिर्जना हुने र आयआर्जनका कार्यक्रम पनि माग गरीरहेका छन् । मतदाताले आफ्ना माग अघि सारेसँगै उमेदवारहरुले मागका विषयमा सम्वोधन गरिने आश्वासन दिँदै आएका स्थानीयवासीहरु बताउछन् ।

गएको ३० वैशाखको स्थानीय निर्वाचनमा उमेदवारहरुले पाएको मतका आधारमा एमालेभन्दा कांग्रेस ८ हजार ९०० मतले आगडि छ । कांग्रेसले ३३ हजार ९४४ मत पाउँदा एमालेले २५ हजार ३६ मत पाएको छ । एकीकृत समाजवादीको ३ हजार २०५ मत छ भने माओवादी केन्द्रको ७ हजार ६१२ । यो मत परिणामलाई आधार मान्ने हो भने डोटीमा गठबन्धन अगाडि छ ।

उक्त मतभारलाई आधार मान्दै भोटरहरुले गठबन्धनका नेताहरुसँग बढी माग राख्ने गरेको आदर्श गाउँपालिकाका स्थानीय हिक्मत खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘डोटीमा गठबन्धनको आधार बलियो देखिन्छ, त्यही कारणले पनि गठबन्धनका नेतासँग स्थानीयले बढी आफ्ना आवश्यकताका माग राख्ने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्