प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार ‘पौरखी’ मतदाताको घरदैलोमा



पर्वत । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार अरुण पौडेल ‘पौरखी’ घरदैलो अभियानमा व्यस्त भएका छन् । उनले आफ्नो निर्वाचन लक्षित भावी कार्ययोजना र चुनाव चिन्ह ‘क्रस खुकुरी’ लिएर प्रत्येक मतदाताको घरदैलोमा पुग्ने गरेका छन् ।

घरदैलो अभियानकै क्रममा सदरमुकामस्थित कुश्मा नगरपालिका र सोही पालिकाको वडा नम्बर ४, ५, ६ र ७ का मतदाताहरुसँग भेटघाट गर्दै आएको पौरख बताउँछन् । भेटघाटकै क्रममा मतदाता उत्साही भएको उनको भनाइ छ । यी वडाहरुका मतदाताको घरदैलो अभियान उत्साही भए पश्चात् कोणसभाको पनि आयोजना गरिएको थियो ।

उक्त सभालाई आइतबार सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार पौरखीले युवा तथा परिवर्तन चाहने बाआमाहरुको उल्लेखनीय सहभागिता रहेको बताए । उनले आफ्नो चुनावी मूलनारा ‘अबको आशा युवाको भरोसा तथा युवाको प्रारम्भ, नयाँ युगको आरम्भ’ रहेको बताए ।

कोणसभालाई सम्बोधन गर्नेक्रममा पौरखीले भने, ‘जिल्लामा ठूलाठूला विकास गर्नेभन्दा वर्तमान अवस्थामा देखिएका जल्दाबलदा समस्या, घर–घरमा स्वच्छ पिउने पानी, निःशुल्क स्वास्थ्य, शिक्षा, महिलाहरुलाई सीपमूलक कार्य, कृषिमा आधुनिकीकरण गर्ने, उत्पादनलाई बजारको पहुँचमा पुर्याउने, कृषकको उत्पादनमा बिमा तथा युवालाई स्वदेशमै रोजगारी दिनुपर्छ ।’

उनले पर्वत जिल्लाको विकास र समुन्नतिका लागि अग्रस्थानमा रहेर मतदातको सुझाव संकलन र सहयोगका साथ अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । पौरखीले मंसिर ४ मा हुने निर्वाचन शान्त र भयरहित हुने भएकोले निर्धक्क भएर चुनाव चिन्ह ‘क्रस खुकुरी’ मा भोट गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्