राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री



काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र व्यक्ति राष्ट्रपति र जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मुख्यमन्त्री हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।

पार्टीले बिहीबार आफ्नो घोषणापत्र (वाचापत्र) सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेको हो । घोषणापत्रमा ६ वर्षदेखि कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको र १० वर्षदेखि लाभको पद नलिएको नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव राखिएको छ ।

त्यस्तै, मुख्यमन्त्रीले विपरीत लिङ्गीलाई उप मुख्यमन्त्री नियुक्त गर्ने, मुख्यमन्त्रीले प्रदेश मन्त्रिपरिषद्का सदस्य हुने र पालिका समन्वय गर्ने गरी जिल्ला प्रमुख नियुक्त गर्ने, प्रदेश प्रमुख खारेज हुने, प्रदेश प्रमुखबाट गराइने सपथ राष्ट्रपतिबाट गराइने, जिल्ला समन्वय समिति खारेज हुने र प्रदेश सरकार प्रदेश परिषद्प्रति उत्तरदायी रहने पनि घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय सभा ३५ सदस्यीय हुने, वडाध्यक्षदेखि प्रतिनिधि सभाका सदस्य सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रिय सभा सदस्यहरू निर्वाचित हुने पनि घोषणापत्रमा उल्लेख छ ।त्यस्तै, वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति निर्वाचित हुने र राष्ट्रिय सभाका अध्यक्ष नै पदेन उपराष्ट्रपति हुने पनि एजेन्डालाई पार्टीले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्