बंगलादेशको सेमिफाइनल जीवितै



मेलबर्न, (एजेन्सी) ।

जिम्बावेलाई ३ रनले हराएपछि बंगलादेशले जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलको सम्भावना जिवितै राखेको छ । ब्रिस्बेनमा भएको खेल निकै रोमाञ्चक भएको थियो । पहिले ब्याटिङ गरेको बंगलादेशले १ सय ५० रन बनायो । जवाफमा उत्रेको जिम्बावेले १ सय ४७ रन जोडेर हारको सामना गर्नुप¥यो ।

अन्तिम बलमा ५ रन आवश्यक भएकोमा मुजाराबानी स्टम्प भएका थिए । यो विकेट लिएपछि बंगलादेशका खेलाडीले हात मिलाएर खुसी मनाए । तर, रिप्लेमा सो बल नो बल देखिएपछि सबैलाई पुन मैदानमा बोलाएको थियो । यसपछि चार रनको आवश्यक भयो । फ्रि हिटमा मुजाराबानीले स्पिनर मोसाडेक होसनको बललाई छुन सकेन र बंगलादेशले दोस्रो पटक जितको खुसीयाली मनाए ।

यो जितले बंगलादेशलाई समूहमा दोस्रो स्थानमा पु¥याएको छ । बंगाली टोलीको ४ अंक छ भने जिम्बावेको ३ अंक रहेको छ । यदि बंगलादेशले पाकिस्तान वा भारतमध्ये एकलाई हराउन सकेमा अन्तिम चारमा पक्का छनोट हुनेछ ।यसअघि, पाकिस्तानलाई स्तब्ध तुल्याएको जिम्बावेको बाँकी खेलमा नेदरल्यान्डस् र भारतविरुद्ध सामना हुनेछ । यसमा नेदरल्यान्डस् कमजोर देखिएको हुनाले संभवत यो टोलीविरुद्ध जिम्बावेले जित निकाल्न सक्नेछ तर, भारतविरुद्ध भने जिम्बावेले कसरत नै गर्नुपर्ने हुन्छ । जिम्बावेको लागि अन्तिम चारमा पुग्न यी दुवै टोलीलाई हराउनुपर्ने दबाब छ ।

पाकिस्तानको पहिलो जित
भारत र जिम्बावेसँग हारेको पाकिस्तानले जारी टी २० विश्वकपमा पहिलो जित हात पारेको छ । आइतबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्डस्लाई ६ विकेटले पराजित गरेको हो । यो जितले पाकिस्तानको अन्तिम चारको सम्भावना जीवितै राखेको छ ।

केवल ९२ रनको लक्ष्य पाकिस्तानले ४ विकेट गुमाएर प्राप्त गरेको थियो । टोलीको जितमा ओपनर मोहम्मद रिजवानले ३९ बलमा ४९ रन जोडेका थिए । जबकि कप्तान तथा ओपनर बाबर आजम ४ रनमा पभेलियन फर्केका थिए । उनले जारी प्रतियोगितामा ३ खेलबाट ८ रन मात्रै बनाउन सकेका छन् ।

यसअघि, पर्थको मैदानमा डच टोली ९ विकेटको क्षतिमा ९१ रनमा समेटिएको थियो । टोलीका लागि कोलीन एकेरम्यानले सर्वाधिक २७ रन जोडे । पाक बलरमा शादाब खानले २२ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए ।
पाकिस्तानले बिहीबार आफ्नो चौथो खेल दक्षिण अफ्रिकासँग खेल्नेछ भने अर्को आइतबार अन्तिम खेल बंगलादेशविरुद्ध खेल्नेछ । यदि, अफ्रिकासँग हारेमा पाकिस्तानको यस टी–२० विश्वकप समूह चरणसम्मै यात्रा हुनेछ । यदि जितेमा लगभग अन्तिम चारको यात्रा पक्का हुन सक्नेछ । यसको लागि बंगलादेशलाई हराउनु आवश्यक छ ।

नेदरल्यान्डस् बाहिरियो

लगातार तेस्रो हारसँगै नेदरल्यान्डस् समूह चरणबाटै बाहिरिने भएको छ । टोली तीन खेलमा अंकविहीन हुँदै समूह २ मा अन्तिम स्थानमा रहेको छ । नेदरल्यान्डस्को यो खेलमा निकै निरासजनक प्रदर्शन भएको थियो । डच ब्याटरले ६३ डट बल खेलेका थिए । कोही पनि ब्याटर सहजका साथ ब्याटिङ गर्न सकिरहेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्