‘अबको प्रधानमन्त्री प्रचण्ड, मुख्यमन्त्री पाण्डे’



गोरखा । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रतिनिधि सभाका लागि गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू यसपालिको चुनावमा भने आनन्दमा रहेको बताउनुभएको छ ।

गोरखाको भच्चेकमा आइतबार आयोजित घरदैलो कार्यक्रममा उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्दै उहाँले यसपालिको चुनावमा आफू तनावरहित रहेको बताउनुभयो । यसअघिको चुनावमा निकै तनाव भए पनि यसपालि भने तनावरहित र आनन्द रहेको बताउनुभयो । उहाँले गोरखा २ बाट आफू निर्वाचित भएर गएपछि आफ्नो प्राथमिकता सडकको स्तर उन्नति नै रहने बताउनुभयो । प्रचण्डले अबको आर्थिक क्रान्ति भने गोरखाबाट नै शुरू हुने बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ का मतादाताहरू निकै भाग्यमानी रहेको बताउनुभयो । गोरखा २ मा यसपालि उठेका प्रचण्ड आगामी दिनमा प्रधानमन्त्री र गोरखा २ को प्रदेश सभाको ख मा उठेका कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने जिकिर गर्नुभयो ।गोरखा २ का मतादाताहरूको मतबाट नै प्रचण्ड प्रधानमन्त्री र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने हुँदा गोरखा २ का मतदाता भाग्यमानी रहेको बताउनुभयो ।

उहाँले आफूले दुईपटक गोरखा २ बाट विजय हासिल गरे पनि यसपटक प्रचण्डका लागि छाडेको भन्दै आफू अझै पनि गोरखा २ का नागरिकहरूका लागि पुलकै रूपमा रहिरहने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गोरखा २ ख का प्रदेश सभाका उम्मेदवार सुरेन्द्र पाण्डेले मुलुक र लोकतन्त्रका लागि कांग्रेस र माओवादीको गठबन्धन भएकाले पनि गठबन्धनका उम्मेदवार जिताउन आवश्यक रहेको बताउनुभयो ।

यसैबीच गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुरबाट माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका क्रममा राज्यबाट बेपत्ता पारिएका परिवारका केही सदस्यसँग एकदमै छोटो भेट गर्दै प्रचण्डले शहीद तथा बेपत्ता परिवारका सदस्यसँग अर्को कार्यक्रममा भेट गर्ने प्रतिबद्धता जनाउनुभएको छ । चाँडै नै भच्चेकमा नै गठबन्धनका तर्फबाट आमसभाको तयारीसमेत भइरहेको कांग्रेस, माओवादी गठबन्धनका नेताहरूले बताएका छन् ।

‘नो नट अगेन’ पानीको फोका जस्तै होः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानलाई पानीको फोकाको संज्ञा दिँदै त्यसको अर्थ नभएको बताउनुभएको छ । उहाँले सो कुरा आइतबार बिहान गोरखा अजिरकोटमा मतदाता भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले यस्ताहरूले मुलुकलाई अराजकतातिर लैजाने जोखिम रहेको आरोप समेत लगाउनुभएको छ । ‘स्वतन्त्र भएर हुने चाहिँ केही होइन । देशलाई, जनतालाई, समग्र इतिहास निर्माणलाई स्वतन्त्रले भूमिका खेल्छन् भन्ने जति अवैज्ञानिक र अवस्तुवादी कुरा त केही पनि हुँदैन, पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भन्नुभयो– ‘तर पनि स्थानीय तहको चुनावमा र अहिले पनि स्वतन्त्र भनेर पार्टीहरूलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठुल्ठुला युगान्तकारी परिवतर्नमा असाधारण भूमिका खेले उनीहरूलाई गाली गरेर हिँड्ने प्रवृत्ति कदापि राम्रो होइन । मैले हेर्दाखेरि यो झन्डै झन्डै पानीको फोका जस्तो हो ।’

प्रतिक्रिया दिनुहोस्