छठ पर्वमा सहभागी हुन रवि लामिछाने जनकपुर जाँदै


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित छठ पर्वमा सहभागी हुन आज जनकपुरधाम जाँदैछन् ।

लामिछानेले शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुका साथै पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

त्यसैगरी, उनले जनकपुरधामका जानकी मन्दिर, राममन्दिर, राजदेवी मन्दिरलगायत धार्मिक स्थलको दर्शन गर्नेछन् । आइतबार ऐतिहासिक गंगासागरमा हुने छठ पूजामा सहभागी हुने र सोमबार बिहान छठ घाटमा अर्घ्य अर्पण गरेपछि काठमाडौं फर्किने कार्यक्रम रहेको रास्वपा मधेस प्रदेश कार्यालयले जनाएको छ ।

पार्टीले लामिछानेको भ्रमणलाई सफल बनाउन प्रदेशअन्तर्गतका नेता, कार्यकर्ता, सांसद तथा शुभेच्छुकलाई उपस्थितिका लागि आग्रह गरेको छ ।