सार्वजनिक खरिदका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन कोषको आग्रह


काठमाडौँ।

सामाजिक सुरक्षा कोषले सार्वजनिक खरिद प्रक्रियामा संलग्न श्रमिकको उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न तीनै तहका सरकार तथा रोजगारदातालाई आग्रह गरेको छ।कोषले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यविधि, २०८३’ कार्यान्वयन गर्न सार्वजनिक निकाय, संस्थान तथा रोजगारदातालाई अनुरोध गरेको हो।

कार्यविधिअनुसार निर्माण, मालसामान आपूर्ति, परामर्श तथा अन्य सेवा खरिदमा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्नेछ। साथै, श्रमिकको नियमित पारिश्रमिक भुक्तानी र योगदान रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।कोषले सार्वजनिक निकायलाई खरिद सम्झौता, बिल भुक्तानी तथा अनुगमनका क्रममा श्रमिकको आबद्धता र योगदानको अवस्था यकिन गर्न आग्रह गरेको छ। व्यक्तिगत विवरणको गोपनीयता र तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्दै कार्यविधि प्रभावकारी रूपमा कार्यान्वयन गरिने कोषले जनाएको छ।