विकास र समृद्धिमा एमालेको योगदानलाई कसैले चुनौती दिन सक्दैन : बस्नेत


काठमाडौँ ।

नेकपा (एमाले) का सचिव महेश बस्नेतले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माण र समृद्धिका कामलाई वैकल्पिक शक्ति दाबी गर्नेहरूले चुनौती दिन नसक्ने बताएका छन्।

शनिबार च्यासलमा आयोजित एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले नेपालको विकासमा एमालेको योगदान ऐतिहासिक रहेको दाबी गरे।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारको नीतिगत पहलमा ३ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन भएको र देश लोडसेडिङमुक्त बनेको उल्लेख गरे।

बस्नेतले वर्तमान सरकारको नौ महिने कार्यकालमा कुशासन, भ्रष्टाचार, अनियमितता र महँगी बढेको आरोप लगाए। ग्यासको मूल्यवृद्धि र युवालाई दिएका आश्वासन पूरा नहुँदा जनतामा निराशा बढेको उनको भनाइ थियो।

आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने लक्ष्यसहित अघि बढ्ने बताउँदै उनले विकासका काम र पार्टीका एजेन्डा लिएर जनतामाझ जाने जानकारी दिए।

साथै, सरकारका जनहितविरोधी कदमविरुद्ध विचार मिल्ने दलहरूसँग चुनावी सहकार्य र संयुक्त आन्दोलन गर्ने रणनीति रहेको उनले बताए।

पार्टी संगठन सुदृढीकरणमा जोड दिँदै बस्नेतले आगामी कात्तिक २६ गते वडा र मङ्सिर ४ गते पालिका अधिवेशन सम्पन्न गर्ने तयारी रहेको जानकारी दिए।

उनले अधिवेशनहरू सकेसम्म सर्वसम्मत रूपमा सम्पन्न गर्न र गुटबन्दी अन्त्य गरी संगठनात्मक एकता कायम गर्न आग्रह गरे।