लुम्बिनी र विराटनगर आज भिड्दै, दुवैको लक्ष्य जित


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा लुम्बिनी शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदानमा उत्रनेछ भने विराटनगर प्लेअफ सम्भावना बलियो बनाउने दाउमा हुनेछ ।

६ खेलबाट ४ जित, १ हार र १ खेल वर्षाका कारण रद्द हुँदा ९ अंक जोडेको लुम्बिनी अंक तालिकाको दोस्रो स्थानमा छ । टोलीले यसअघि कर्णाली, जनकपुर, पोखरा र सुदूरपश्चिमलाई पराजित गरिसकेको छ ।

यता ६ खेलबाट ३ जित र ३ हारसहित ६ अंक जोडेको विराटनगर पाँचौं स्थानमा छ । प्लेअफमा स्थान बनाउन विराटनगरका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ ।

उसले यसअघि पोखरा, जनकपुर र सुदूरपश्चिमलाई हराएको थियो ।आजको खेलमा जित निकाल्दै लुम्बिनी शीर्ष स्थानमा उक्लने प्रयासमा हुनेछ भने विराटनगर प्लेअफ यात्रालाई थप मजबुत बनाउन चाहन्छ ।