अब देश विकास र नीति निर्माणको लागि पुराना पात्रहरु बदलिनु पर्छ : अरुण​ पौडेल​ ‘पौर​खी’



पर्वत।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पर्वत जिल्लाबाट स्वतन्त्रतर्फ आफ्नो उम्मेद्वारी दिनु भएका अरुण पौडेल पौरखीले देश विकास तथा समृद्धिका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।

राजनीतिमा दलीय व्यवस्थाका विभिन्न स्वरुप र शैली इतिहास देखि नै देख्दै, सुन्दै र भोग्दै आएको बताउँदै उहाँले पछिल्लो कालखण्डमा दलीय व्यवस्थामा लागेका राजनीतिज्ञहरुको अकर्मण्ड्यता, भ्रष्टाचारोन्मुख प्रवृत्तिको निरन्तरता, विकासशील सोंचको खडेरी, पद र शक्तिमा रहिरहने अनि भ्रष्टाचारजन्य क्रियाकलापमा उद्दत रहिरहने नेतृत्वले गर्दा समग्र देश र पर्वत जिल्ला समेतको विकासको गतिमा सुस्तता आएको उहाँको भनाइ छ।

मंगलबार दिपावली तथा छठपर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रभावकारी तवरले सामाजिक विकास, पूर्वाधार विकास, पर्यावरणीय सन्तुलन, आर्थिक समृद्धि, रोजगारी र निर्यात प्रवर्द्धन एवम् आयात प्रतिस्थापन जस्ता पक्षहरु सदैव ओझेलमा पर्दै गएको बताउँदै यस परिवेशमा पर्वत जिल्लामा पनि एउटा स्वच्छ छवि भएको भिजनरी,जोश र जाँगर भएको युवा नेतृत्वको खाँचो रहेकोले देश विकासको लागि नीति निर्माणको लागि पुराना पात्रहरु बदलिनु पर्छ भन्ने सोच लिएर आफू स्वतन्त्र उम्मेदवारको रुपमा पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा होमिएको बताउनु भयो।

पुरानै पार्टी र उनै ब्य​क्तिलाई पटक पटक ​ जनताले म​त​ दिएर जिताएता पनि प्र​तिनिधिले जनताको स्तरोन्नतीका लागि केही काम​ न​ग​रेकाले सामाजिक विकास र समृद्धिका लागि य​स​प​ट​को निर्वाचनमा आफूले उम्मेद्वारी दिएको उहाँले दोहोर्याउनु भयो।

रोजगारमुखी शिक्षा प्रणाली लागू गरेर सार्वजनिक र सरकारी विद्यालयहरुको स्तरोन्नती गर्ने, अध्यापन प्रणालीमा सुधार गर्ने र व्यवसायीक शिक्षा अध्ययनको अवसर सरकारी विद्यालयबाटै गर्ने गराउने,निजी विद्यालयको व्यवस्थापन र गुणस्तरलाई कायम राख्दै थप उत्कृष्ट बनाउने उहाँको भिजन छ।

यस्तै उद्यमशीलता र स्वदेशमै युवाहरुलाई रोजगारी प्राप्त हुने किसिमले पूर्वाधारहरुको विकास गर्ने, भ्रष्टाचारजन्य प्रवृत्तीहरुको अन्त्य गर्दै राज्यको श्रोत साधनलाई अधिकतम रुपले सामाजिक, आर्थिक एवम् पूर्वाधार विकासका लगानी गर्ने ,पर्वत जिल्लाका सवै स्थानीय तहहरुमा सुविधासम्पन्न स्वास्थ्य उपचारका लागि हाल सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको स्तरोन्नती गरी पूर्वाधार र भौतिक तथा मानवीय संसाधानले सम्पन्न तुल्याउने उहाँको योजना छ।

सार्वजनिक यातायातलाई व्यस्थित गर्न सडक पूर्वाधारको विकास गर्ने र यातायात प्रणालीलाई भरपर्दो तुल्याउने गरी विकास र प्रवर्द्धन गर्ने र कार्यान्वयनमा ल्याउने। साथै हालसम्म पनि प्राथमिकतामा नपरेका पर्यटकीय स्थलहरुको विकास, नीजि सार्वजनिक साझेदारी मोडेलको पर्यटन पूर्वाधार निर्माण लगायत निजी क्षेत्रको पूँजी लगानी र लगानीको संरक्षण गर्ने कुरामा आफू सदैव अग्रसर रहने उहाँको भनाइ छ।

कृषिमा उत्पादन र उत्पादकत्व बढाउन परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्ने, उत्पादनलाई बजारको पहुँचमा ल्याउने, कृषकको उत्पादनमा विमाको व्यवस्था लागू गरेर कृषि पेशालाई आधुनिक, सम्मानित, मर्यादित, आकर्षक र व्यवस्थित तुल्याउने सोंच रहेको उहाँले बताउनु भयो।

उहाँले समाजका गरिब तथा विपन्न वर्ग एवम् समुदायका लागि रोजगार विशेष योजना क्षमता, विकास योजना, तर्जुमा गरी लागू गर्नुपर्ने आवश्यकतालाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो।

 

 

प्रतिक्रिया दिनुहोस्