प्रेमगीत–३ नेपालसँगै भारत डुल्दै



मधेसका साथै कला प्रेमी दर्शकको चाहनालाई मध्यनजर राख्दै प्रेमगीत–३ नेपाली र हिन्दी भाषामा एकै साथ रिलिज गरिने भएको छ।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार मधेसका साथै कलाप्रेमी दर्शकको चाहनालाई मध्यनजर गर्दै प्रेमगीत–३ विजया दशमीको अवसर पारेर आगामी असोज ७ गतेदेखि एकै मितिमा नेपाल र भारतमा रिलिज हुने फिल्म नेपालमा नेपाली र हिन्दी भाषामा देखाइन लागिएको हो। नेपाल र भारतमा सँगसँगै रिलिजमा आउने फिल्मको प्रचार–प्रसारका लागि प्रेमगीत–३ को टोली दुई भागमा विभाजित भएर नेपाल र भारतको प्रमोसनमा जुटेको छ।

फिल्मका निर्माता निर्देशक सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री कृष्टिना गुरुङ, नेपाली मुलका गायक इन्डियन आइडल पवनदीप लगायतको टोली भारतका विभिन्न स्थानमा फिल्मको प्रमोशनका लागि जुटेको छ। पवनदीपले फिल्ममा हिन्दी भाषाको गीत गाएका छन्। भारतका विभिन्न स्थानमा फिल्मका अर्का अभिनेता सुनील थापाले पनि प्रमोसनमा सहयोग गरेका छन्। नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइराला र बलिउड अभिनेता गोविन्दाले पनि यसको प्रमोसनमा सघाइरहेका छन्। प्रदीप र कृष्टिनासँगै नेपालबाट प्रमोसनका लागि भारत पुगेको टोलीलाई त्यहाँका सञ्चार माध्यमले उच्च स्थान दिँदै आएका छन् भने कतिपय ठाउँमा प्रदीप खड्का, सुनील थापा, कृष्टिना गुरुङका लागि बडी गार्डको व्यवस्था गरेर सम्मान प्रकट गरिएको छ।

फिल्मका नेपाली र हिन्दी दुवै भाषाका ट्रेलर र प्रचार सामग्री मनपराइएको छ भने गीत संगीत पनि त्यत्तिकै चर्चामा छन्। हिन्दी भाषामा गरिएको डबिङ र हिन्दी भाषाको गीतको पनि प्रशंसा भएको छ। बलिउडका क्रिटिक्सहरूले समेत यसको ट्रेलर र गीत संगीतको प्रशंसा गर्दै आएका छन्। यो सबलाई हेरेर अभिनेता प्रदीप खड्काले प्रेमगीत–३ ले नेपाली फिल्म क्षेत्रलाई थप उचाइ दिलाउने आशा व्यक्त गरेका छन्। ‘प्रेमगीत ३ ले अन्तर्राष्ट्रिय स्तरमै भिन्न स्थान बनाउने त छ नै, सँगसँगै नेपाली फिल्म क्षेत्रको हाइट बढाउने काम पनि गर्नेछ’ खड्काको भनाइ छ।

त्यसैगरी, अभिनेता सुनील थापालगायतको टोली देशका विभिन्न भागमा पुगिरहेको छ। ‘नेपालको फिल्म, नेपालको कला भनेर भारतको गल्ली गल्ली फलाक्नुपरेको छ। नेपालमा त हामलिाई सबैले चिन्नुहुन्छ। तर, त्यहाँ हाम्रो बारेमा जानकार छैनन्। त्यसको लागि पनि दिन रात नभनी धाइरहेका छौँ। सम्झना आउँछ प्रेम गीतको बेला जति बेला प्रेम र म स्कुल–स्कुल गएर हामीले आप्mनो परिचय दिनुपरेको अवस्था थियो’ निर्माता निर्देशक सेनले भारतबाट जानकारी गराएका छन् ‘अहिले त्यो बेलाजस्तै हिन्दी भाषाका दर्शकको लागि स्थलगत परिचय दिनुपरेको छ। नतिजा जेहोस्, इमानदारिताका साथ हरेक तहबाट हामिले गर्नुपर्ने काम मेहनतका साथ गरेका छौँ।’

भारत पुगेको टोली हालसम्म भारतको सिक्किम, दार्जिलिङ, सिलीगुडी, कोलकाता, आसाम, सिलंग, नयाँदिल्ली, देहरादूनलगायतका स्थानमा पुगिसकेको छ भने फिल्म प्रदर्शन हुने सबै स्थानमा पुग्ने योजना टिमको छ।
नेपालमा रिलिज हुने प्रेमगीतको दुवै भाषाको फिल्मको राइट्स निर्माता सेनको होम प्रोडक्सन आसुसेन फिल्म्स्सँग छ। तर, भारतको कलेक्सन भारतीय वितरकले लिनेछन् भने नेपालमा रिलिज हुने दुवै संस्करणको कलेक्सन नेपाली निर्माताले नै पाउनेछन्।

हिन्दीमा डब गरेर दुई भाषामै रिलिज गर्न लागिएको प्रेम गीत ३ को नेपाली र हिन्दी संस्करणमा केही दृश्य फरक भएकाले दर्शकले दुवै संस्करण हेर्नुपर्ने निर्माता सेनको भनाइ छ। फिल्म हलमा रिलिज भएको ८ हप्तापछि भने ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुनेछ। फिल्मलाई लिएर यसका कलाकार तथा निर्माता निर्देशक मात्र नभई सिंगो फिल्म क्षेत्र उत्साहित छ। नेपाली फिल्म लामो समयको अन्तरालपछि पुनः भारतीय बजारमा प्रवेश गर्न लागकोले यो फिल्मको प्रतीक्षा फिल्म क्षेत्रसँग सम्बन्धित सबैलाई छ।

यसैबीच प्रेमगीत–३ को एउटा टोली फिल्मबारे जानकारी दिन मकवानपुर पुगेको हेटौंडा संवाददाता रोशन पराजुलीले जानकारी गराएका छन्। फिल्मको टिमले नेपाल र नेपालीको साझा सम्पत्तिका रूपमा रहेको फिल्म हेर्न आग्रह गरेको छ। हालसम्म भारतमा फिल्मको ट्रेलर १७ सयभन्दा धेरै हलमा बजिरहेको छ। फिल्म निर्माण टिमका अनुसार ट्रेलर बजेका सबै हलमा फिल्म रिलिज हुनेछ। सन्तोष सेन र स्व. छेतेन गुरुङले संयुक्तरूपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनील थापा, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरीलगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्मका कार्यकारी निर्माता चक्रबहादुर चन्दले मनाङ सात गाउँको दुई सय वर्ष पुरानो युद्ध र दरबारको कथावस्तुलाई फिल्ममा उतारिएको बताए। सबै छायांकन मनाङमा गरिए पनि दरबारको दृश्यचाहिँ कीर्तिपुरमा सेट निर्माण गरी फिल्म छायांकन गरिएको चन्दले बताए। उनले शुरुमा बलिउडमा जाने गरी फिल्म नबनाएको र कोभिडले फिल्म रिलीज रोकिएको समयमा भारतमा डबिङ गर्ने योजनाअनुरूप त्यहाँसमेत रिलिज गर्ने वातावरण निर्माण भएको बताए।

अभिनेता सुनील थापाले नेपाल र नेपालीले गर्व गर्नलायक फिल्म निर्माण भएको दोहो-याए। ‘नेपालका विभिन्न टिपिकल दृष्यलाई समेटेर तयार भएको फिल्म नेपाली र हिन्दी भाषामा तयार भएकाले भारतीय र नेपालीले माया गर्नेमा हामी ढुक्क छौं’ बलिउड फिल्ममा समेत छाउँदै आएका थापाले भने। उनले बलिउडमा प्रतिस्पर्धा गर्दा नेपाली फिल्मका तर्पmबाट प्रेमगीत–३ ले इतिहास रच्नेसमेत बताए। बहुचर्चित फिल्म बहुबलीमा डबिङ गर्ने कलाकारले डबिङ गरेकाले प्रेमगीत–३ को हाइट बढेको चर्चा पनि उनले गरे। हेटौंडाको कार्यक्रममा हेटौंडेली नवनायक मनीष रावत, प्रेम पुरी, गायक प्रताप दासलगायतले फिल्मबारे आप्mना अनुभव र भनाइ राखेका थिए।

प्रतिक्रिया दिनुहोस्