नेपाल र भारतबाट सायरा बन्दै



नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा सायरा नामक फिल्म निर्माणको घोषणा भएको छ। मंगलबार राजधानीको लाजिम्पाटस्थित होटल -याडिसनमा आयोजित कार्यक्रमका बीच निर्माण घोषणा गरिएको सायरामा बलिउड निर्माता तथा निर्देशक पुष्कर झाको निर्माण रहनेछ।

फिल्म पुष्करसँगै नेपाली व्यानर डीबीआर मिडिया एन्ड मुभिज प्राली र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानीमा बन्नेछ। भिलेज ब्वाई प्रोडक्सनमार्फत भारतमा सिरियल र फिल्म निर्माण गर्दै आएका पुष्करले नेपाली फिल्म बनाउन पाउँदा खुसी लागेको बताए। ‘नेपाली फिल्म बनाउने इच्छा थियो। अहिले यो सहकार्य हुँदा म उत्साहित छु। नेपाली फिल्मलाई हिन्दी भाषामार्फत विश्व बजारमा लैजाने टिमको योजना छ।

यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौँ’ पुष्करले जनकारी गराए। निर्देशक विशाल देसाईले नेपाल र भारतको संयुक्त प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित भएको बताए। ‘मलाई निर्देशकको रूपमा चयन गर्नुभएकोमा उत्साहित छु। हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामी यो प्रोजेक्ट तयार गर्छौँ’ उनले भने। फिल्मका प्रस्तुतकर्ता रघु परियारले आप्mनो प्रस्ताव स्विकारेर फिल्ममा जोडिएको पुष्कर र विशाललाई धन्यवाद दिए।‘नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा म ढुक्क छु। नेपाली फिल्मको बजार विस्तार होस् भनेर यसलाई हिन्दी भाषामा ओटीटीमार्फत रिलिज गर्न लागेका हौँ। हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौँ’ प्रस्तुतकर्ता रघुले भने।

आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपालीलगायतका नेपाली र भारतीय कलाकारको अभिनय रहने फिल्मको अन्य कलाकार तथा प्राविधिक छनोट गर्न बाँकी रहेको निर्माण टिमले जानकारी गराएको छ। ‘फिल्म कसरी बन्छ सँगै कसरि प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रष्ट छ। त्यसैले, पनि काम गर्न उत्साहित छु’ कार्यक्रममा आर्यनको भनाइ थियो। डान्सिङ रियालिटी शोमार्फत चिनिएकी कविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन्। उनले टिमले आफूलाई जोडिन मद्दत गरेको बताइन्। ‘म राम्रो डेब्युको खोजीमा थिएँ। भनेजस्तै टिम पाएकाले डेब्यु गर्दैछु।

फिल्ममा मेरो भूमिका पनि सुहाउँदो छ’ उनले भनिन्।दसैँ र तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत सुटिङ अस्ट्रेलिया र १० प्रतिशत नेपालमा गरिने भएको छ। काजीमान आत्रेय कार्यकारी निर्माता र पुष्कर झा निर्माता रहेको फिल्ममा कथा प्रस्तुतकर्ता परियारको रहनेछ। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, भारतीय उद्योगपति भावर सिंह प्लाडा, इन्द्रैश राय, कलाकार अर्चना शर्मालगायतले फिल्मको सफलताका लागि शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्