निर्माता संघको अध्यक्षमा नवल र महासचिवमा सुनील

सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित



सधैं पदका लागि हानथाप हुने नेपाल चलचित्र निर्माता संघमा यसपटक निर्विरोध रूपमा पदाधिकारी चयन भएका छन्। बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि संघको अध्यक्षमा निर्माता, निर्देशक तथा अभिनेता नवल खड्का निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा निर्माता सुनिलकुमार थापा निर्विरोध भएका छन्।

अध्यक्ष र महासचिवसहित संघको सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष नवल खड्काले निर्माताहरू सुरक्षित र व्यावसायिक बनाउन, पेशागत हकहितका लागि सदैव अग्रसर रहने, संघको लागि जग्गा प्राप्ति र भवन निर्माण गर्ने, राष्टिझय चलचित्र नीति २०७१ कार्यान्वयन गराउनु, विभिन्न राष्टझमा रहेका नेपाली दूतावास तथा नियोगमा सांस्कृतिक सहचारी दूत नियुक्त गरी चलचित्र प्रदर्शन गर्ने सरल अवस्था बनाउनु, फिल्म क्षेत्रलाई उद्योगको मान्यता दिलाउनु, चलचित्र विकास बोर्ड ७ वटै प्रदेशमा खोल्न पैरवी गर्दै चलचित्र निर्माणका लागि इजाजत पत्रलगायत आवश्यक सम्पुर्ण प्रक्रियालाई सरल, सहज तथा मर्यादित हुने व्यवस्था मिलाउने, सबै प्रदेशमा छायांकनस्थल र स्टुडियो तथा फिल्म प्रज्ञा प्रतिष्ठानको स्थापना गर्ने लगायतका कुराहरू आफ्नो घोषणापत्रमा उल्लेख गरेका थिए।

संघको उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध चुनिए। सदस्यहरूमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबुगुरुङ, किरण नेपाली र शेखर लामासहितको कार्यसमिति नै निर्विरोध भएको छ। संघको शनिबार राजधानीमा हुने १६औं वार्षिक साधारणसभामा कार्यसमीतिको औपचारिक घोषणा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्