के घर के डेराको फष्ट लुक



आगामी कात्तिक ४ गते अल नेपाल रिलिज हुने फिल्म के घर के डेराको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पशुपतिप्रसाद, आमाजस्ता सामाजिक फिल्मका निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्मका तीन भिन्न भिन्न पोस्टर सार्वजनिक गरिएको हो। यी पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झालाई प्रस्तुत गरिएको छ।

एक पोस्टरमा विपिनलाई चुरोटको बद्माबाट काजु झिकेर खाँदै गरेको देखाइएको छ भने अर्को पोस्टरमा टाई-कोट र कालो चस्मामा ठाटिएका दयाहाङले आकाशतिर हेरेका छन्। त्यसैगरी, अर्को पोस्टरमा वर्षालाई खुसी बनाउन विपिनले लालपुर्जा देखाइरहेको दृश्य छ भने पृष्ठभूमिमा सुरक्षा र रविन्द्र हर्षित मुद्रामा देखिएका छन्।

विपिन, दयाहाङ, रवीन्द्र, वर्षा र सुरक्षासँगै लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिष क्षेत्री, बाल कलाकार आयुशी ढकाललगायतले अभिनय गरेको फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ। ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनद्वारा निर्मित फिल्ममा युवराज कार्की कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्