रेखा मोरङ-३ को उम्मेदवारमा सिफारिस



विराटनगर, (नेस)। राप्रपाले मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै जाँदा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन अभिनेत्रीसमेत रहेकी पार्टी नेतृ रेखा थापाको नाम सिफारिस गरेको छ।

नाम सिफारिस भएपछि थापाले चुनावी अभियानसमेत शुरू गरेकी छन्। मंगलबार मोरङको कानेपोखरीमा आयोजित सभामा बोल्दै थापाले चुनावी अभियानमा होमिन कार्यकर्तालाई आह्वान गरिन्। मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ थापाको नाम सिफारिस भएको राप्रपा बेलबारीका अध्यक्ष नगेन्द्र कार्कीले बताए। उनका अनुसार प्रत्यक्षतर्फ थापासँगै अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिस भएको छ।

अभिनेत्री थापा मोरङको सुन्दरहरैंचाकी हुन्। मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिका पर्दछन्। यसअघि, यो निर्वाचन क्षेत्रमा एमालेका भानुभक्त ढकाल विजयी भएका थिए। कांग्रेसका सुनील शर्मा उनीसँग पराजित भएका थिए। गत निर्वाचनमा पराजय भोगेका शर्माको नाम यसपटक पनि उम्मेदवारका लागि सिफारिस भएको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले प्रतिनिधि सभामा एकल उम्मेदवारको नाम सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्