देउरानी जेठानीको झिँगे दाउ



सााहित्यकार भीमनिधि तिवारीले ३० को दशकको नेपाली समाजलाई चित्रण गरेर लेखेको कृति झिँगे दाउमा आधारित फिल्म झिँगे दाउ अहिलेको नेपाली समाजमा पनि उत्तिकै सान्दर्भिक रहेको अभिनेत्री केकी अधिकारीले बताएकी छन्।

फिल्मले हाम्रो घर समाजभित्र हुने समासामयिक घटनालाई उजागर गर्नुका साथै विभिन्न खालका मानवीय संवेदनालाई प्रस्तुत गरेको छ। समय जतिसुकै परिवर्तन भए पनि त्यो बेला र अहिले पनि घरमा बुहारी भित्रिएपछि छोरा आफूसँग भन्दा बुहारीसँग नजिक भएको आमाले महसुस गर्न थाल्छिन्।

कहिल्यै नदेखेको अर्की महिला पात्रसँग छोरानजिक भएको देख्दा आमाको मनमा आउने विचार र भर्खरै विवाह गरेर ल्याएको श्रीमतीलाई यो घर पनि तिम्रै हो भनेर कम्फर्ट फिल गराउन आफ्नी आमाभन्दा श्रीमतीसँग नजिक हुन श्रीमान्ले लगाउने इफोर्ट यसमा देखाइएको छु केकीले फिल्मबारे जानकारी दिन हालै राजधानीमा आयोजित पत्रकार भेटघाटमा भनिन् विवाहपछि अर्को व्यक्ति घरभित्र पसेपछि कसरी ब्यालेन्स गर्नुपर्छ भन्ने कुरा फिल्ममा देखाइएको छ। फिल्ममा पुरुषहरू जुवातास खेल्ने र महिलाहरू पनि काम नहुँदा झिँगाको दाउ खेलेर समय बिताउने प्रवृत्तिलाई देखाइएको छ। फिल्म टझेलरभन्दा फरक पनि हुन सक्छ। यसमा सानो कुराचाहिँ हाइड गरिएको छ। त्यो दर्शकको लागि सरप्राइज हो।

त्यस्तै, अभिनेत्री आँचल शर्माले फिल्ममा कहिलेकाहीँ आमा पनि गलत हुन सक्छिन् र आमाको कारण दाजुभाइको सम्बन्धमा फाटो ल्याउन सक्छ भन्ने विषय प्रस्तुत गरिएको बताइन्।घरमा आउने नयाँ सदस्यको विचार नमिल्दा घरभित्र सानो कुराले हुने दाजुभाइ र देउरानी जेठानीबीच हुने झगडा र टकराव अनि त्यसलाई ट्याकल गर्ने तरिकाचाहिँ फरक हुन सक्छु आँचलको भनाइ थियो। अभिनेता मुकुन भुसालले घरमा विवाहपछि आफ्नी आमा र श्रीमती दुवैबीचको सम्बन्धलाई समायोजन गरेर लैजानुपर्ने विषयमा फिल्म घुमेको बताए। हो अहिले हामी एजुकेटेड भयौँ होला। तर, समाजमा घरभित्र हुने मनमुटाव र टकराव अझै पनि देखिन्छ। फिल्ममा यही कुरा छु उनले भने। अर्का अभिनेता कुशल विष्टले दाजुभाइ तथा देउरानी जेठानीबीचको पारिवारिक झमेलामा निर्मित फिल्मको पात्रमा आफूलाई अभिनय गर्न सहज भएको बताए।

भोलि शुक्रबारबाट अल नेपाल रिलिजमा आउने फिल्म ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको छ। मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टको साथमा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय गरेको फिल्ममा प्रदीप भारद्वाजको कथा र पटकथा, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ। फिल्म कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्