हरेक बिहान शुभकामना बाँड्ने निर्मलको जन्मदिन यस्तो



आफूसँग फेसबुकमार्फत जोडिएका फिल्मी र गैरफिल्मी सम्पूर्ण व्यक्तिलाई हरेक दिन बिहानै फोटोसहित एकमुष्ट रूपमा फेसबुकबाटै जन्मदिनको शुभकामना दिँदै आएका लोकप्रिय हास्यव्यंग्य अभिनेता तथा निर्माता निर्देशक निर्मल शर्मा (गैंडा) स्वयंको जन्मदिन भने हिजो सोमबार प(यो।
जन्मदिन सोमबार भए पनि उनले शुभेच्छुकहरूबाट तीन दिनदेखि नै लगातार शुभकामना पाइरहे। सोमबार परेको वास्तविक जन्मदिनमा भने सबैभन्दा पहिलो शुभकामना उनले आफ्नी आमा तथा पत्नी र दुई छोराबाट पाए।

बिहान उठेर तल झर्नासाथ आमाले टीका लगाएर दक्षिणा र आशिर्वादसहित जन्मदिनको शुभकामना दिनुभयो भने श्रीमती तथा छोराहरूले उपहारसहित शुभकामना दिए। त्यसपछि तरकारी किन्न चाबहिलको तरकारी बजार गएको थिएँ। त्यहाँ तरकारी पसलका साहुजीहरूले पनि शुभकामना दिनुभयो , निर्मलले सुनाए दिउँसो आफ्नै निर्माण रहेको फिल्म छक्कापञ्जा–४ को सुटिङ सेटमा पुगेपछि अभिनेता अभिनेत्री दीपकराज गिरी र दीपाश्री निरौलादेखि सबैबाट शुभकामना पाएँ। मेरो जन्मदिन साउन १६ गते हो।

तर, साउन १४ गतेदेखि नै कयौं शुभ चिन्तकको शुभकामना पाउँदै आएको छु। सबैलाई रिप्लाई दिन ७ दिनले पनि भ्याइँदैन। त्यसैले हरेक वर्ष एकपटक जन्मदिनको दिन फेसबुक लाइभमा आएर सबैलाई एकमुष्ट धन्यवाद भन्ने गरेको छु भने बाँकी ७ दिनचाहिँ आएका शुभकामनाको रिप्लाई दिन छुट्याउने गरेको छु। सकेसम्म सबै जनालाई रिप्लाई दिने कोशिस गर्छु।

उनले दिउँसो लाइभमा आएर आफूलाई शुभकामना दिनेहरूलाई धन्वाद व्यक्त गरे। सुटिङ सकिएपश्चात् राति सुटिङ सेटमा केक काटेर बर्थडे मनाएका निर्मल आफू १७-१८ वर्षको भएपछि बाइक चढ्न थालेदेखि साथीभाइका साथ भेटघाट तथा खानपान गरी जन्मदिन मनाउन थालेको बताउँछन्। मलाई जन्मदिन मनाउने, केक काट्ने कुराले अलि असहज र लाज पनि लाग्छ। जन्मदिनमा केक काट्दा रमाइलो मान्ने र विशेष खुसी हुने भनेको बच्चा र वृद्धवृद्धाहरू हुन्।

मलाई पनि सरप्राइज स्वरूप विभिन्न समयमा विभिन्न कलाकार तथा साथीभाइले केक काटिदिने गर्नुभएको छ। लकडाउनअघि अनुराग कुँवरजी, करिश्मा मानन्धरजी, दीपकजी, दीपाजीहरूले केक काटेर शुभकामना दिने गर्नुहुन्थ्यो भने लकडाउनका बेला पनि अभिनेत्री एलिजा गौतमजीले केक काटेर शुभकामना दिनुभएको थियो। कलाकारितामा आइसकेपछि साथीभाइसँग जमघट गरेर जन्मदिन मनाउन थालेको २०-२५ वर्ष भयो।उनी भन्छन्।

जन्मदिनमा उपहार पाउने गरेका निर्मल आफ्नो लागि सबैभन्दा महत्वपूर्ण उपहार शुभ चिन्तकको माया रहेको बताउँछन्। पहिले-पहिले भेटेर तथा फोनमार्फत शुभकामना दिने चलन थियो। तर, अहिले विभिन्न सामाजिक सञ्जालमार्फत उपहारस्वरूप शुभकामना पाउने गरेको छु। त्यस्तै, आमाले टीका लगाएर दक्षिणा उपहार दिनुभयो भने श्रीमतीले टझाउजर तथा दुई छोराले दुईवटा टिसर्ट दिए। मलाई भौतिक उपहारको खासै महत्व लाग्दैन। त्यसैले कति पाएँ भनेर हिसाब पनि गर्दिनँ। निर्मलले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने।

निर्मलले १० वर्षदेखि आफ्ना सामाजिक सञ्जालमा जोडिएका सबैलाई फेसबुकमार्फत शुभकामना दिँदै आएका छन्। फेसबुकको माध्यमबाट संसारभर छरिएर रहेका आफ्ना आफन्त, बच्चादेखिका साथीभाइ तथा फिल्म क्षेत्रका स्पटब्वाइ, लाइटम्यान, सहकर्मी जोडिएका हुन्छन्। उहाँहरू सबैलाई जन्मदिनको दिन एक पल भए पनि खुसी दिऔं भन्ने सोचले एकमुष्ट शुभकामना दिन थालेको हुँ। अहिले मानिस धेरै व्यस्त हुन थालेका छन्। मानिससँग खुसी हुने बहाना छैन।

फेसबुकको माध्यमबाट भए पनि उहाँहरूलाई खुसी दिऔं भनेर पिस अफ माइन्डका लागि पनि शुभकामना दिन थालेको हुँ। घरमा बसी+बसी त्यो पनि फ्रीमा शुभकामना दिएर खुसी साटिन्छ भने किन नगर्नु? यसरी शुभकामना दिन थालेदेखि सबैलाई शुभकामना दिने भनेर एक खालको मेरो अर्को पनि परिचय पनि बनेको छ। निर्मलले सुनाए।

यसरी शुभकामना दिँदा मानिसहरूले आफूलाई सम्झिएकोमा भावुक तथा खुसी हुँदै आभार प्रकट गर्ने गरेको निर्मलले बताए। जन्मदिनको शुभकामना दिएर हरेक दिनलाई विशेष बनाउने गरेका निर्मलले आफ्नो जन्मदिन जस्तै हरेक दिन विशेष हुने पनि सुनाए।

प्रतिक्रिया दिनुहोस्