अफगानिस्तानमा खेल भइरहँदा बम विस्फोट



काबुल, (एजेन्सी) । 

अफगानिस्तानमा क्रिकेट खेल भइरहँदा बम बिस्फोट भएको छ । काबुल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शापागिजा क्रिकेट लिग भइरहेको थियो । बान्ड ए अमीर ड्रेगन र पामिर जाल्मीबीच खेलको बीचमै बम बिस्फोट भएको थियो । एक स्थानीय पत्रकारले यसको भिडियो शेयर पनि गरेका छन् ।
काबुल प्रहरीका प्रवक्ताले बताएअनुसार विस्फोट एक ग्रेनेडबाट भएको थियो । यसमा चार दर्शक घाइते भएका छन् । शुरुवातमा यो आत्मघाती बम रहेको बताइएको थियो । बम विस्फोटपछि खेल केही बेरको लागि रोकिएको थियो । खेलाडीलाई बंकरभित्र लगिएको थियो । पछि घटना साम्य भएपछि खेल पुनः शुरु भएकोथियो ।

अफगानिस्तान क्रिकेट बोर्डको तर्फबाट बताइयो कि सबै खेलाडी, स्टाफ र विदेशी सुरक्षित छन् । संयुक्त राष्ट्र (यूएन) का एक शीर्ष अधिकारी रमिज अलकबरोभ पनि यो घटना हुँदा रंगशालामै थिए । यूएनले यसको निन्दा पनि गरेको छ । यस घटनाको भिडियो सामाजिक संजालमा निकै भायरल पनि भइसकेको छ ।

खेलमा जाल्मीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ सय ५९ रन बनाएको थियो । खेल रोकेको कारण ड्रेगनलाई डकवर्थ लुइस नियमअनुसार १० ओभरमा ९४ रन बनाउनुपर्ने लक्ष्य निर्धारित गरिएको थियो । टोलीले १ विकेटको क्षतिमा १७ बल बाँकी राखी लक्ष्य प्राप्त गरेको थियो ।
१८ जुलाईमा शुरु भएको

आठौं संस्करणको शापागीजा क्रिकेट लिग १८ जुलाईमा शुरु भएको थियो । अफगानिस्तानमा तालिबानले पुनः कब्जा गरेपछि यो पहिलो ठूलो क्रिकेट प्रतियोगिता आयोजना भएको हो । यसमा अफगानिस्तानका कयौ प्रमुख खेलाडीले भाग लिइरहेका छन् । बेन्ड ए अमीर ड्रेगनका कप्तानअफगानिस्तानका लागि खेल्ने अफताब आलम हुन् । ड्रेगनमा अन्तर्राष्ट्रिय क्रिकेटका शानदार बलर राशिद खान पनि रहेका छन् । उनले यो खेलमा खेलेका थिएनन् । त्यस्तैै पामिर जाल्मीका कप्तान शापूर जादरान हुन् । उनी पनि अन्तर्राष्ट्रिय खेलाडी हुन् । ५ अगस्टमा फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्