श्रीलंकाको पाकिस्तानमाथि ठूलो जित



कोलम्बो, (एजेन्सी) । 

राजनीतिक र आर्थिक संकटमा परिरहेको श्रीलंकाको लागि त्यहाँको क्रिकेट टोलीले सुखद नतिजा निकालेको छ । गालेमा खेलिएको दोस्रो टेस्टमा श्रीलंकाली टोलीले ठूलो जित हात पा¥यो । घरेलु टोलीले पाकिस्तानी टोलीलाई २ सय ४६ रनको ठूलो अन्तरले हरायो । यो श्रीलंकाली क्रिकेट टोलीको ठूलो जितसमेत हो । यो नतिजासँगै दुई खेलको टेस्ट सिरिज १–१ ले बराबरी पनि भएको छ ।

पहिले ब्याटिङ गरेको श्रीलंकाली टोलीले ३ सय ७८ रन बनाएको थियो । यसको जवाफमा पाकिस्तानी टोली २ सय ३१ रनमै अलआउट भएको थियो । श्रीलंकाको तर्फबाट सर्वाधिक विकेट रमेश मेन्डिसले लिए । उनले ५ विकेट लिएका थिए । त्यस्तै प्रभात जयसूर्याको हकमा ३ विकेट परेको थियो ।

दोस्रो इनिङमा श्रीलंकाले ३ सय ६० रनमा इनिङ समाप्ति घोषणा गरेको थियो । पाकिस्तानसमक्ष ५ सय ८ रनको लक्ष्य दिइएको थियो । पाकिस्तानले मात्र २ सय ६१ रन मात्रै बनाउन सक्यो । टोलीका कप्तान बाबर आजमले एक्लै संघर्ष गरे पनि हार टार्न सकेनन् । उनले ८१ रन जोडेका थिए । दोस्रो इनिङमा पनि जयसूर्या र मेन्डिसले घातक बलिङ गरे । जयसूर्याले ५ विकेट लिँदा मेन्डिसले ४ विकेट हासिल गरेका थिए ।

यो जितपछि श्रीलंका आईसीसी टेस्ट च्याम्पियनसिपमा तेस्रो स्थानमा उक्लिएको छ । भारत चौथो स्थानमा छ भने पाकिस्तान पाँचौं स्थानमा रहेको छ । यो सूचीमा दक्षिण अफ्रिका पहिलो स्थानमा छ भने दोस्रो स्थानमा अस्टेलिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्