सुआरेज नासियोनलमा अनुबन्धित



लन्डन, (एजेन्सी) । 

उरुग्वेली फरवार्ड लुइस सुआरेज आफ्नो पूर्वक्लब नासियोनलमा अनुबन्धित भएका छन् । सुआरेज बुधबारबाट आधिकारिक रूपमा नासियोनलमा आबद्ध भएका हुन् । सुआरेजले आफ्नो पहिलो क्लब नासियोनलसँग एक वर्षको सम्झौता गरेको बताइएको छ ।

यस समरमा स्पेनिस क्लब एट्लेटिको मेड्रिडमा आफ्नो सम्झौता सकिएपछि ३५ वर्षीय सुआरेज फ्री एजेन्ट बनेका थिए । सुआरेजले मंगलबार नै आफ्नो पूर्वक्लब फर्कन लागेको भिडियो पोस्ट गरेका थिए । जहाँ क्लबसँग सम्झौता भएको बताएका थिए । त्यसपछि उनका समर्थकले सुआरेज अनुबन्धको हस्ताक्षर अभियान नै चलाएका थिए । सुआरेजले युरोपमा १६ वर्षे आफ्नो व्यवसायिक खेल करियरपछि उरुग्वे र नासियोनल फर्किएका हुन् । उनले यस नेदरल्यान्ड्स, इंग्ल्यान्ड र स्पेनमा आफ्नो व्यवसायिक खेल करिअर बिताएका छन् ।

सुआरेजले सन् २००५ मा १८ वर्षको उमेरमा नासियोनलका लागि आफ्नो व्यावसायिक डेब्यु गरेका थिए । जहाँ उनले टोलीलाई उरुग्वेली लिगको उपाधि जिताएका थिए । त्यसपछि, उनी ग्रोनिन्जेनमा आबद्ध भएका थिए । ग्रोनिएनमा एक सिजन बिताएपछि उनी डच क्लब आयाक्स पुगेका थिए । आयाक्समा साँढे तीन सिजन बिताएपछि उनी इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए । लिभरपुलमा पनि साढे तीन सिजनको बसाइपछि उनी २०१४–१५ को सिजनमा क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए । बार्सिलोनामा ६ सिजन बिताएका उनी २०२०–२१ को सिजनमा अर्को स्पेनिस क्लब एट्लेटिको मेड्रिडमा पुगेका थिए ।

आयाक्सबाट डच लिग र डच कप, लिभरपुलबाट फुटबल लिग कप, बार्सिलोनाबाट चारपटक स्पेनिस ला लिगा, चारपटक कोपा डेल रे, दुईपटक सुपर कोपा, एकपटक च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र सुपर कप जितेका छन्  एट्लेटिकोबाट एकपटक ला लिगा जितेका छन् । सुआरेज १६ वर्षपछि आफ्नो पूर्वक्लब फर्कने भएका हुन् । सन् २०११ मा उरुग्वेबाट कोपा अमेरिका जितेका सुआरेजले नासियोनलबाट उरुग्वेली लिग जितेका छन् ।

१६ वर्षे एडम बायर्नमा

जर्मन क्लब बायर्न म्युनिखले १६ वर्षीय युवा डिफेन्डर एडम अज्नोउलाई अनुबन्ध गरेको छ । बायर्नले एडमलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । लेफ्ट ब्याक एडमले बायर्नसँग २०२५ सम्मको सम्झौता गरेका छन् । त्यस्तै, बायर्नलाई उनलाई व्यवसायिक सम्झौताका लागि समेत विकल्प दिएको छ । अब उनी बायर्नको युथ टोलीमा रहेर खेल्नेछन् । एडमले बायर्नको यू–१७ टोलीबाट खेल्नेछन् ।

गत सिजन उनले बार्सिलोनाको यू–१६ टोलीबाट खेलेका थिए । एडमले स्पेनको यू–१६ टोलीबाट खेलिसकेका छन् । त्यसअघि, उनले मोरक्कोको यू–१५ टिमबाट खेलेका थिए ।त्यसैगरी, प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले डिफेन्डर क्रिस रिचार्ड्सलाई अनुबन्ध गरेको छ । क्रिस्टलले जर्मन क्लब बायर्न म्युनिखबाट डिफेन्डर क्रिसलाई अनुबन्ध गरेको हो । २२ वर्षीय डिफेन्डरले प्रिमियर लिग क्लबसँग ५ वर्षको सम्झौता गरेका छन् ।

अमेरिकन डिफेन्डर तीन सिजन बायर्नमा बिताएर क्रिस्टल आएका हुन् । उनले गत सिजन होफेनहाइमबाट लोनमा खेलेका थिए । अमेरिकाका लागि उनले ८ म्याच खेलेका छन् । मुख्य प्रशिक्षक प्याट्रिक भिएराले चौंथो खेलाडीको रूपमा उनलाई अनुबन्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्