नागरिकता संशोधन विधेयकमा सरकारले बलमिच्याइँ गर्‍याे : डा.पौडेल



काठमाडौं ।

राष्ट्रिय सभाकी सदस्य डा. विमला पौडेलले गठबन्धन दलका नेताहरुले नागरिकता सम्बन्धी विधेयकमा बलमिच्याइँ गरेको आरोप लगाएकी छन् ।

आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।‘नागरिकता जस्तो विषयमा सरकारले बलमिच्याइँ गरेको छ । संसदको अवमूल्यन गरेको छ । गठबन्धनका दलहरुका नेताहरुले बलमिच्याइँ  गरेका छन्,’ डा. पौडेलले भनिन् ।

उनले विधेयकको प्रक्रियामा समेत प्रश्न गरिन् । उनले अगाडि भनिन्, ‘जुन तरिकाले प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा आएको छ, त्यो प्रक्रियामा मेरो असहमति छ ।’

नागरिकता विधेयकमा छोरा र छोरीलाई विभेद गरिएको समेत उनले जनाइन् । ‘विधेयकमा एकल आमाका सन्तानलाई नागरिकता दिने कुरा छ, जसका कारण यो विधेयक फिर्ता गर्न हामीलाई अप्ठेरो छ । तर विधेयकमा अंगीकृत नागरिकता किन विवाह गरे लगत्तै दिने, यो सरकारले स्पष्ट पार्नु पर्छ,’ उनले भनिन् ।

दक्षिण एसियाली अन्य देशमा अंगीकृत नागरिकता विवाह गरेको दुई देखि सात वर्षपछि मात्र दिने व्यवस्था रहेको समेत उनले बैठकमा स्मरण गरिन् ।‘विधेयकमा विभेद छ । छोराले विदेशी बुहारी ल्याउने वित्तिकै नागरिकता पाउने, छोरीले विहे गरे नपाउने ?,’ उनले प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस्