बिना हातहतियार पोखरामा एटिएमबाट रकम चोरी

प्राविधिकसिस्टम बुझेको व्यक्ति हुनसक्ने अनुमान



पोखरा।

पोखरामा पछिल्लो समय एक पछि अर्को एटिएम मेसिन फोड्ने घटना बढिरहेका छन् । पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटिएम चोरी भएको छ । त्योपनि विना हात हतियार । पोखरा महानगरपालिका २६ अर्घौचोकमा रहेको एनएमबी बैंकको एटिएमलाई विना हात हतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ ।
नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंशपुरको बिचमा रहेको अर्घौचोकबाट एटिएम फोडेर रकम निकालिएको हो । यस अघि पोखरा ९ नयाँ बजारमा पनि एटिएम फोडेर चोरीको प्रयास भएको थियो । शुक्रबार मात्रै उक्त घटना घटेको थियो । घटना घटेको ६ दिनमा फेरी अर्को उस्तै घटना भएको हो । दुवै एटिएम रातको समयमा फोडिएको छ । लेखनाथमा भने एटिएमको लक सामान्य तरिकाले नै खोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेका सिसिटिभि क्यामेरामा स्पष्ट देखिएको छ ।

रकम रहेको बाकस भने विचारी चौतारीमा भेटिएको छ । तर, रकम जति सबै लगिएको छ । उक्त एटिएममा बैंकले सोमबार दिउँसो मात्रै १७ लाख रुपैयाँ राखेको स्रोतले जानकारी दिए । बैंकबाट करिब १५ लाख हारहारीमा चोरी भएको हुन सक्ने अनुमान रहेको स्रोतको भनाइ छ । ‘सबैकुरा अनुसन्धानको पाटोमा रहेको छ । यतिनै भनेर भन्न मिल्ने अवस्था छैन् । एटिएमबाट कति रकम सेवाग्राहीले निकाले भन्ने कुरा पनि अनुसन्धानमै रहेको छ’ स्रोतले भने । उनका अनुसार बैंकका कर्मचारीहरु माथि समेत अनुसन्धान भइरहेको छ ।

पोखरा महानगरपालिका ८ न्यूरोडमा भने एन.आई.सी. एशिया बैंकको एटिएमबाट रकम चोरीको प्रयास भएको थियो । एटिएमबाट रकम निकाल्न एक युवाले एटिएम मेसिन फोड्ने प्रयास गरेका थिए । रुकुम घरभई हाल पोखरा ९ पृथ्वीचोक बस्दै आएका १९ वर्षीय नरेश पुन मगरले गैँचीले हानेर एटिएम मेसिन फोड्ने प्रयास गरेका थिए । प्रहरीले उनलाई शनिबार पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले घटनाबारे अनुसन्धान भइराखेको जानकारी दिए । उनले घटनामा प्राविधिक बुझेको या सिस्टम सम्बन्धि ज्ञान भएको व्यक्तिले नै रकम चोरी गरेको हुनसक्ने देखिएको बताए ।

पोखरामा घटेका पछिल्ला एटिएम चोरीको प्रयास यो छैटौं रहेको छ । उनी डिएसपी भएर जिल्लामा आएपश्चातको यो छैटौं घटना हो ।
यस अघिका पाँच घटनामा भने प्राविधिक ज्ञान नभएका व्यक्ति देखिएपनि यो घटनामा भने प्राविधिक ज्ञान भएको व्यक्ति वा सिस्टम बुझेको व्यक्तिको संलग्न रहेको छ । घटना प्रहरीले ढिलागरी थाहा पाउँदा पक्राउ गर्न समय लागेको उनले सुनाए । ‘घटना राती २ बजेको रहेछ । हामीले विहान साढेँ ६ बजेमात्रै थाहा पायौँ’ तिवारीले भने,‘ढिलागरी थाहा पाउँदा अनुसन्धानमा समय लागेको हो नत्रभने त समयमै पक्राउ गर्ने थियौँ ।’समयमै थाहा पाउँदा प्रहरीले यस अघि ५ वटा एटिएम सम्बन्धि घटनामा संलग्नलाई पक्राउ गरेको उनले बताए ।

पोखरा न्युरोडमा रहेको एनआईसी एशिया बैंकको एटिएम २ पटक चोरीको प्रयास भएको थियो । पृथ्वीचोकमा रहेको माछापुच्छे्र बंैक, विरौटामा रहेका २ एटिएम समेत फोडेर चोरी गर्ने प्रयास भएको थियो । प्रहरीले समयमै जानकारी पाउँदा उक्त घटनामा संलग्नलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको थियो ।
उक्त पाँच घटनामा भने प्राविधिक नबुझेका व्यक्ति संलग्न भेटिएको उनले बताए । ‘यस अघिका पाँच यस्तै घटनामा नन टेक्निकल व्यक्ति थिए, अहिले अलि टेक्निकल देखिएको छ । यो भन्दा अघि जोजोले एटिएम फोड्ने प्रयास गरे ती सफल भएका थिएनन्’ उनले थपें, ‘यो चाहीँ कि टेक्निकल राम्रै बुझेको हुन पर्‍यो कि त सिस्टम राम्रोसँग बुझेको मान्छे हुन पर्‍यो । विना हात हरियार खाली हातले खोलेको छ ।’

प्रहरीले केही तथ्यहरु रहेको र सोहीको आधारमा अनुसन्धान गरिरहेको छ । एटिएमबाट कति रकम चोरी भयो भन्ने यकिन भने नभएको उनले जानकारी दिए । वैंकले दिएको निवेदनमा रकम दाखिला नभएकाले यति नै चोरी भएको भन्ने नदेखिएको तिवारीले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्