वीरगञ्जमा ठूलो मात्रामा लागूऔषधसहित युवक पक्राउ



वीरगन्ज ।

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागुऔषधसहित एक जना युवकलाई कारसहित नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकबाट वडा नम्बर १० का ३१ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बीआर० वाई ८२०१ नम्बरको कारसहित अनिललाई नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उक्त कारको सिटमुनि फल्स बटम बनाई कागजले बेरी राखेको अवस्थामा लागुऔषध भेटिएको पर्सा प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रहरीले कारबाट फेनारगन ८ सय ८६ एम्पुल, डाइजेपाम १ हजार १ सय ५५ एम्पुल र नुरफिन ९ सय ७८ एम्पुल गरी जम्मा ३ हजार १९ एम्पुल तथा नाईट्राभेट १ हजार ७ सय ८५ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार पक्राउ परेका अनिललाई लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्