तेजगंगाले प्राप्त गरेको ‘क्युएए’ कार्यक्रमको प्रवोधीकरण



काभ्रे।

उच्च शिक्षा प्रदान गर्ने देशका १ हजार ४ सय ३७ वटा क्याम्पसहरु मध्ये ६३ वटा क्याम्पसले गुणस्तर सुनिश्चितता एवम् प्रमाणीकरण गर्ने अनुमति पाएका छन् । जिल्लाको तेजगंगा बहुमुखी क्याम्पस पनौतीले उक्त अनुमति प्राप्त गरेसँगै सरोकारवालासँग प्रवोधीकरण गरेको छ ।

पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शिवराज सञ्जेलले विद्यार्थीहरुको क्षमता वृद्धिका लागि गुणस्तर सुनिश्चितता एवं प्रमाणीकरण महत्त्वपूर्ण रहेको बताउनु भयो । ‘देशभरका सामुदायिक क्याम्पसहरुमा यो कार्यक्रम लागु गर्न आवश्यक छ तर पुरा गर्न कठिनाइ छ’–अध्यक्ष सञ्जेलले भन्नुभयो–‘सामुदायिक क्याम्पसहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको कम हुँदै आएको रिसर्च यो कार्यक्रम पछि थप हुनेछ ।’पनौती तथा आसपासको क्षेत्र र उक्त क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि ‘क्युएए’ कार्यक्रम महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । तेजगंगा बहुमुखी क्याम्पसले प्राप्त गरेको उक्त कार्यक्रमलाई सफल बनाउँदै पनौती क्षेत्रको रिसर्च तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि क्युएए कार्यक्रमले सहजता हुने अध्यक्ष सञ्जेलले बताउनु भयो ।

उक्त प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु विदेश जान चाहेको अवस्थामा आफूले पढिरहेको विषय र तह क्रेडिट ट्रान्सफर हुनेछ । त्रिभुवन विश्वविद्यालयले उक्त व्यवस्था सहितको ऐन पास गरिसकेको छ ।

कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्रको गौरव तेजगंगा क्याम्पसले प्राप्त गरेको ‘क्युएए’ ले नगरपालिकाको प्रगतिमा सहयोग पुग्ने बताउनु भयो । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई नगरपालिकाको विकास र समृद्धीमा क्यूएएले थप सहयोग पुग्ने बताउनु भयो ।

पूर्व नगर प्रमुख भिमप्रसाद न्यौपानेले लामो समय देखि पनौती क्षेत्रको शैक्षिक क्षेत्रको विकासका लागि तेजगंगाले पु¥याएको योगदानलाई नगरपालिकाको तर्फबाट गरेका सहयोग र नगर क्षेत्रमा क्याम्पसले पु¥याएको योगदानको कदर भएको बताउनु भयो । गुणस्तरलाई कायम राख्न यो कार्यक्रमले थप सशक्तता हासिल गरेको उहाँले बताउनु भयो ।

कार्यक्रममा जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले क्युएए कार्यक्रमको प्रभावकारिता र चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले २२ वर्ष अघि शुरु भएको क्याम्पसले देशभरका क्याम्पसहरुमा आफुलाई प्रतिस्पर्धी बनाउँदै उक्त प्रमाणपत्र प्राप्त गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो ।

उपाध्यक्ष राजाराम सैजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक मुक्तिनाथ काफ्ले, भिमसेन केसी लगायतले तेजगंगाले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

तेजगंगा क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी) बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन) भनिने उक्त प्रमाणपत्रले क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ तथा शैक्षिक क्रियाकलाप हुने कुरालाई प्रमाणित गरेको छ ।

क्याम्पसले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा योगदान दिँदै आएको छ । क्यूएए पाउनका लागि क्याम्पसले नीति तथा प्रक्रिया, पाठ्यक्रम, अध्ययन अध्यापन तथा मूल्याङ्कन, अनुसन्धान, परामर्श तथा विस्तार, पूर्वाधार तथा सिकाई स्रोत, भौतिक सुविधा तथा पाठ्यसामग्री, विद्यार्थी मागनिर्देशन, सूचना प्रणाली र जनसम्पर्क गरी आठ शीर्षकमा आफूलाई अब्बल साबित गरेको छ । विद्यार्थीहरुको आवधिक मूल्याङ्कन, अनुसन्धानमा आधारित पठनपाठन र बजारको मागअनुसारको विषय थप गरी रोजगारीमूलक शिक्षामा जोड दिँदै स्वायत्त शैक्षिक संस्थाको रुपमा क्याम्पसलाई स्थापित गर्नु उक्त कार्यक्रमको प्रमुख लक्ष्य हो ।

क्याम्पसबाट २२ वर्षको अवधिमा २ हजार ६ सय ५२ जना दीक्षित भएका छन् । नियमित कक्षाका अतिरिक्त आन्तरिक परीक्षा, विशेष कक्षा, सीपमूलक तालीम, कार्यशाला, स्थलगत भ्रमण, प्रयोगशाला कक्षा आदिको माध्यमबाट विद्यार्थीको क्षमता विकास गर्ने क्याम्पसको प्रयत्न रहँदै आएको छ ।

क्यूएए के हो ? 

क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन–गुणस्तर सुनिश्चितता एवम् प्रमाणीकरण) एउटा प्रक्रिया हो । जहाँ कुनै आधिकारिक निकायले क्याम्पस लगायत उच्च शिक्षामा संलग्न संस्थाहरुको विभिन्न मापदण्डहरुमा गुणस्तर मापन गर्दछ । ती मापदण्ड पूरा गर्ने शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्दछ । यो भनेको शैक्षिक गुणस्तरमा वृद्धि गरी अध्ययन अध्यापन कार्यलाई अझ प्रभावकारी र व्यावहारिक बनाउने प्रक्रिया हो । अर्थात् क्यूएए प्राप्त क्याम्पसहरुमा गुणस्तरीय पढाइ हुन्छ भन्ने कुराको प्रमाणीकरण हो । नेपालमाा उच्च शैक्षिक संस्थाहरुलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्