मोरङ कारागारमा २३ जनालाई कोरोना सङ्क्रमण



मोरङ ।

जिल्ला कारागार मोरङमा कोरोना संक्रमण फैलदाँ २३ जनालाई अस्पताल भर्ना गरिएको छ । विराटनगर–८ मा रहेको कारागारमा कोरोना संक्रमण फैलिएपछि कोसीको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउँदै संक्रमितलाई त्यहाँ भर्ना गरिएको हो ।

कारागारमा बिहीबार १९ जनालाई र शुक्रबार पाँचजनामा संक्रमण पुष्टि भएपछि जिल्लास्थित कोभिड क्राईसिस मेनेजमेन्ट समितिको शुक्रबार आकस्मिक बैठक बसेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

कारागार प्रशासनले बिहीबार उपचारका लागि भर्ना गरेकामध्ये एकजनाको मृत्यु भएको थियो । तर, मृत्युको कारण कोभिड नै हो भन्ने पु्ष्टि भईनसकेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । अन्य रोग समेत रहेका कारण एक्कासी बिरामी परेर अस्पताल भर्ना गरिएको थियो, प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो–अहिले कारागारमा रहेका धेरैमा समस्या देखिएकोले थप परीक्षण भईरहेको छ ।

शुक्रबार ज्वरो आएकाहरु थप ४८ जनाको परीक्षण नमूना संकलन गरिएको छ । बिहीबारका १८ जनामध्ये १६ जनाको एन्टिजेन पोजेटिभ देखिएको थियो । दुईजनाको लक्षण मिल्दोजुल्दो थियो । बिहीबार थप पाँचजनामा एन्टिजेट पोजेटिभ देखिएको र ४८ जनामा लक्षण मिल्दोजुल्दो देखिएपछि नमूना संकलन गरिएको हो ।

कारागार भित्र धेरैलाई कोरोना संक्रमण हुनसक्ने देखिएपछि त्यहिं भित्र आईसोलेट गर्ने निर्णय गरेका छौं, प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो–आवश्यक पर्नेहरुलाई कोसी कोभिड अस्पतालमा भर्ना गर्ने व्यवस्था मिलाएका छौं । तीनसय क्षमताको कारागारमा एकहजार ८७ जना कैदीबन्दी रहेका छन् ।

बिहीबार ज्वरो आएकामध्ये सुन्दरहरैंचा–४ का ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भएको हो । शुक्रबार आकस्मिक बसेको कोभिड क्राईसिस मेनेजमेन्ट समितिको बैठकले ८ वटा निर्णय गरेको छ । संक्रमण फैलिएको कारागारमा सावधानी अपनाउने, कोसी कोभिड अस्पताल सञ्चालनमा ल्याउने, त्यहाँ आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने, आम नागरिकमा सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्ने, संक्रमण जोखिमका बारेमा नागरिकलाई जानकारी गराउने लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्