डलर देखाउँदै नेपाली रुपैयाँ ठगी

एउटै समूह, पटक पटक संलग्न



काभ्रे।

सिन्धुपाल्चोक जिल्ला सानोपाखर घर भएका रोजन थापा किराना पसल गर्ने गरी रकमको जोहो गरिरहेका थिए । दुबईबाट फर्किएको केही समयमै उनलाई ब्यवसाय गर्ने सोच थियो । मासिक १८ हजार रुपैया दुबईमा कमाई गरी जम्मा गरेको रकमले ब्यवसाय गर्ने योजना बनाएका रोजन सामाजिक संञ्जालमा भएको सामान्य परिचयमै ठगिन पुगे ।

बाह्रविसे ५ घर भएका राज तामाङको परिचय सिसि क्यामेराको फुटेजका आधारमा प्रहरीले फेला पर्यो । अपरिचित ब्यक्तिसँग सम्वन्ध बढेकै आधारमा रोजन आफुसँग भएको नेपाली रुपैया साट्न तयार भए । ‘मेरो मामा रसुवाको भन्सारमा काम गर्नुहुन्छ, काम गर्ने सिलसिलामा ४ हजार ५ सय डलर भेट्टाउनु भएछ । उक्त डलर साटौ भन्दै प्रलोभन देखाए’–पीडित रोजन थापाले भने–‘धुलिखेलको नारायण स्थानमा तीन महिना अघि मामालाई समेत लिएर आए । ट्याक्सिमा आएका उनिहरुले केहि बेर कुरा गरे । डलर देखाए । तर खोल्न र लिन दिएनन । जब मैले तीन लाख रुपैया दिएँ उनिहरुले मलाई धकेल्दै भागे ।’ तत्काल प्रहरी कार्यालय आएर घटनाको बारेमा जानकारी गराएको रोजनले बताए ।

प्रहरीले त्यही सूचना र सिसि क्यामेराको फुटेजका आधारमा तीन महिना पछि सिन्धुपाल्चोक घर भएका राज तामाङलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले सिन्धुपाल्चोकको उक्त वडामा डलर देखाउँदै ठग्नेहरुको गिरोह नै रहेको बताउनु भयो । यस अघि भएका तीनवटा घटनामा सोही वडाका केहि ब्यक्तिहरु संलग्न भएको फेला परेको छ । केहि त पक्राउ परिसकेका छन् ।

प्रहरीकोमा केहि महिना अघि बनेपा नगरपालिका वडा नम्वर ६ मा जग्गा देखाउने बाहनामा डलरको प्रलोभनमा ३० लाख रुपैया ठगी गरेको उजुरी परेको छ भने पाँचखालको खावा नजिकै ६ लाख ठगी गरेको उजुरी छ । त्यस्तै पाँचखालकै तामाघाट, लामिडाँडा, पनौतीको चौकोटमा डलर देखाएर नेपाली रुपैया लुटेको उजुरी परेको छ ।

२०७७ साउन १२ गते पाँचखाल लामिडाँडामा भएको उक्त घटनामा १० लाख ठगी गरेका थिए । सोहि घटनामा सिन्धुपाल्चोक जिल्ला साविक गाति गाविस ४ भई हाल बाह्रविसे नगरपालिका वडा नम्वर ५ घर भएका ३७ बर्षिय श्रीखण्ड तामाङ, सोहि वडाका ३० बर्षिय हर्क तामाङ, ४७ बर्षिय चैते भन्ने बुद्धिबहादुर तामाङ र ६० वर्षका गोविन्द तामाङ पक्राउ परेका छन् । सोहि समुहले २०७७ साउन १९ गते अरनिको राजमार्गको तामाघाट पुलमा ८ लाख ५० हजार रुपैया लुटेका थिए ।
२०७६ चैत्र १ गते चौकोटमा १० लाख रुपैया ठगी गर्ने सोहि समुहका श्रीखण्ड तामाङ, हर्क तामाङ र बुद्धिबहादुर तामाङ सहित २१ बर्षिया पिन्की तामाङ, ३३ बर्षिय विश्वराज तामाङ र ३६ वर्षिय सानु तामाङ रहेका छन् । पिन्की, विश्वराज र सानु फरार छन् । पछिल्लो समय पक्राउ परेका राजु तामाङका भाई सानु पनि सोहि पेशामा संलग्न छन् । परिवार नै ठगी पेशामा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले नेपाली रुपैया दिएर डलर धेरै लिने लोभमा नफस्न अनुरोध गर्नु भएको छ । अबैद्यानिक रुपले ल्याएको डलर नक्कली हुने भएकाले कानुन विपरितका कुनै पनि कृयाकलापमा संलग्न नहुन नागरिकहरुलाई प्रहरी प्रमुख जोशीले अनुरोध गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्