अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ



काठमाडौं ।

काठमाडौं, सर्लाही, बाँके, मोरङ, मकवानपुर र झापाबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित टहराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने तेह्रथुम सुङ्गनाम गाउँपालिका–४ घर भएका २६ वर्षीय दिपक तामाङ छन् । उनको कोठाबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बौद्ध, बानेश्वर र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको संयुक्त प्रहरीले दिपकको कोठा जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी महाबिर नगर रक्सौल–१९ घर भएका १९ वर्षीय बिशाल कुमार छन् ।

उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ४ सय ९७ एम्पुल डाइजेपाम, ४ सय ९७ एम्पुल फेनारगन, ४ सय ९७ एम्पुल नुफिन, २ हजार भारतीय रुपैयाँ र १ थान भारतीय आधार कार्ड बरामद गरेको छ ।

सर्लाहीको कोडैना गाउँपालिका–२ बस्ने २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका–२ बस्ने ३४ वर्षीय रोशन भन्ने बिजय कुमार घिमिरेलाई नियन्त्रित लागूऔषध सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बीआर ३० एए ३३६५ नम्बरको मोटरसाइकलमा सवार रितेशलाई लालबन्दी नगरपालिका–१ नवलपुर चोकबाट १ हजार ५ सय ट्याब्लेट नाईट्राभेट सहित र बिजय कुमारलाई ९० बोतल डाईलेक्स डिसी सहित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरी बस्ने ३३ वर्षीया खगिसरा सुनारलाई करिब ५ सय २० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले खगिसराको घर तलासी गर्दा ९ वटा प्लास्टिकको पुरियामा रहेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ फिलिमहल लाईनबाट करिब ३ ग्राम २५ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २४ वर्षीय दिपेश शर्मालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दिपेशको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० प्रकाश होटेल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–२ पुरानो मकवानपुर बस्ने ४८ वर्षीय उज्वल मानन्धर र सोही उपमहानगरपालिका–१० राम मन्दिर बस्ने ३६ वर्षीय रंजित आले मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उज्वलको साथबाट करिब १ सय मिलीग्राम र रंजितको साथबाट करिब ४० मिलीग्राम खैरो हेरोईन फेला पारी दुवैजनालाई पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट करिब १३ ग्राम अवैध लागूऔषध हिरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मेची नगरपालिका–१० बस्ने ३१ वर्षीय प्रदिप आले मगर र सोही नगरपालिका–८ चौधरी टोल बस्ने २० वर्षीय प्रशन्न राजवंशी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्