व्यवसायीक पशुपालनमा कृषकहरुको चासो



स्याङ्जा ।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले राष्ट्रले कृषकको सम्मान गर्नुपर्ने बताउनु भएको छ । जिल्लाको वालिङमा आयोजित नगरस्तरीय गाईभैँसी पालन सम्बन्धी तीन दिने तालीमको अवसरमा नगरप्रमुख खाँणले कृषकहरुको काम र कृषि पेशाको सम्मान विना देशको विकास हुन नसक्ने भएकोले सबैले कृषकहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।

वालिङ नगरपालिकाले आगामी दिनहरुमा कृषकलाई सम्मान तथा कृषि काममा प्रोत्साहन गर्न विशेष कार्यक्रमहरु ल्याउने नगरप्रमुख खाँणको भनाइ थियो ।

नगरप्रमुख खाँणले कृषि उत्पादनमा वृद्धि ल्याउन र किसानको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गर्दै उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने कुरालाई नगरपालिकाले आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रममा समेटेको समेत जानकारी दिनुभयो । कृषिजन्य उत्पादनमा वृद्धि ल्याउन सके मात्रै संमृद्धि संभव हुने समेत उहाँले बताउनुभयो ।

नेपालको पछिल्लो परिवेशमा शैक्षिक बेरोजगारको संख्या बढिरहेको अवस्थामा पशुपालन तथा कृषि व्यवसाय गरेर आर्थिक रुपमा आम्दानी गर्न युवापुस्ता उद्यत हुनुपर्नेमा नगर प्रमुख खाँणले जोड दिनुभयो ।

नगरप्रमुख खाँणले उत्पादनमा आधारित भएर अनुदान दिनेदेखि किसानहरुलाई बीउपूँजिको व्यवस्था सहित विगतका वर्षहरुमा भन्दा यस पटक कृषिमा बजेटको मात्रा बढाएको समेत जानकारी दिनुभयो । उहाँले तालीममा सिकेका विषयहरुलाई व्यवहारमा उतार्न किसानहरुलाई अनुरोध गर्दै उत्पादित वस्तुहरुको बजारीकरणको लागि नगरपालिकाले पूर्ण व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

तालीममा सहभागी पशुपालक कृषकहरुले समय समयमा तालीम तथा गोष्ठीको आयोजना गर्न नगरपालिकालाई अनुरोध गरेका छन् । तालीम तथा सेमिनारहरुले व्यवसायिक सीपको विकास हुँदै उत्पादनमा पनि वृद्धि गर्न सकिने उनीहरुको सुझाव छ । असार १७ गतेदेखि तीन दिनसम्म चलेको तालिममा वालिङका २८ जना व्यवसायिक पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।

दैनिक रुपमा दुध उत्पादन गरेर घरायसी खर्च चलाएर पेशालाई गुणात्मक रुपमा बृद्धि गर्ने योजना रहेपनि सरकारले दिने सहुलियत सुविधा नपाउदाँ ब्यवसाय यथावत रुपमा निरन्तरता दिन बाध्य भएको भैसीपालक कृषक हुमबहादुर रोकाहा क्षेत्रीले गुनासो पोख्नुभयो । गाउँमै ब्यवसायिक रुपमा गाईभैसी पालन सुरु गरेपनि लगानी अनुसारको सेवासुविधा सरकारबाट दिने समयमा बास्तविक कृषकलाई नदिदाँ ब्यवसायबाट अन्य पेशामा धेरैलाई पलायन गराएको हुदाँ यसमा सम्बन्धित क्षेत्रले ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

क्षेत्रीको गाईभैसी पालनजस्तै वालिङमा अरुले पनि ब्यवसायिक गाईभैसी पालन गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्