स्याङ्जामा १० करोड बढीको कारोवार गर्ने २२ व्यवसायी



स्याङ्जा ।

स्याङ्जामा वार्षिक १० करोडभन्दा माथिको कारोवार गर्ने २२ जना व्यवसायी छन् । उनीहरुबाट वार्षिक २ अर्ब ७४ करोड १६ लाख रुपैयाँ बराबरको आर्थिक कारोवार हुने गरेको उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । सो रकम भ्याट बाहेकको रहेको उहाँले बताउनुभयो । यहाँ ठुल्ठूला उद्योग तथा कारखाना छैनन् । वार्षिक १० करोड कारोबार गर्नेहरुमा पेट्रोल पम्प, थोक वितरक, निर्माण व्यवसायी, मोटर पार्टस सप्लायर्स र हार्डवेयर व्यापारी हुन् । तर, ५ करोड सम्मका कारोवारी भने ६० देखि ७० जना रहेको बताइएको छ ।

कर प्रणालीलाई क्रमश ः डिजिटल प्रणालीमा रुपान्तरण गर्ने उद्देश्यले सरकारले नयाँ आ.व.देखि वार्षिक १० करोड बराबरको कारोवार गर्ने व्यवसायीहरु अनिवार्य अनलाइन बिलिङ्मा जानुपर्ने नीति ल्याएको छ । आर्थिक वर्षको सुरुदेखि नै विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने भएको हो । तर, सो भन्दा कम कारोवार गर्ने व्यवसायीलाई भने स्वेच्छिक छ । स्याङ्जाका केही व्यवसायीले भने यसअघि पनि अनलाइन बिलिङ गर्दै आएको जनाएका छन् ।

अनलाइन बिलिङले कर तथा लेखा प्रणालीलाई पारदर्शी, व्यवस्थित, विश्वसनीय बनाउनुका साथै काममा सहजता र कर सहभागिता लागत कम लाग्ने उद्योग वाणिज्य संघ स्याङ्जाका पूर्व अध्यक्ष नवराज सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘करोडौंको कारोवार गर्ने व्यवसायी अब प्रविधिमैत्री बन्नैपर्छ । प्रविधिको उपयोगले व्यवसायीलाई हित गर्ने र प्रविधि उपयोगका बारेमा जानकार रहनु आजको आवश्यकता हो ।’ व्यवसायीलाई अनलाईन विलिङ्मा जानु पर्ने भएपछि स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा वार्षिक १० करोड भन्दा बढी कारोवार गर्ने व्यवसायीलाई प्रशिक्षण दिएको छ । संघको र करदाता सेवा कार्यालयको समन्वयमा विद्युतीय माध्यमबाट बीजक जारी गर्ने व्यवस्थाका बारेमा व्यवसायीलाई जानकारी गराइएको छ ।

करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख शोभाकान्त पंगेनीले आउने आर्थिक वर्षदेखि वार्षिक १० करोडभन्दा माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य अनलाइन विलिङ् गर्नुपर्ने भएकाले सबै व्यवसायीलाई राज्यको नीति बमोजिम काम गर्न आग्रह गर्नुभयो । अनलाइन बिलिङ्ले व्यवसायमा पारदर्शिता हुने भएकाले यस्ता नीति अवलम्बन गरिएको उहाँको भनाइ छ । विद्युत्तीय उपकरणबाट सामान खरिद र बिक्रीसम्बन्धी कारोबार गर्नेगरी नीतिगत व्यवस्था र यसका प्रक्रियाका बारेमा जानाकारी गराईएको प्रमुख पंगेनीको भनाइ छ ।

उहाँले विद्युतीय माध्यमबाट बीजक जारी गर्ने व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेर विधि र प्रक्रियाका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा व्यवसायी मित्रबन्धु पोखरेल, रविन केसी लगायतले व्यवसायीले तत्काल सफ्टवेयर निर्माण गरी काम गर्दा आउने समस्याको बारेमा जानाकारी दिनुभयो । कार्यक्रममा स्याङजा जिल्ला उद्योग वाणिज्य संघलगायत वालिङ, भीरकोट र गल्याङ् नगर उद्योग वाणिज्य संघमा आवद्ध १० करोडभन्दा माथि कारोवार गर्ने स्याङ्जाका व्यवसायीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्