श्रीलंकामा इन्धन संकट : एक साताका लागि सबै विद्यालय बन्द



काठमाडौं । 

श्रीलंकाको शिक्षा मन्त्रालयले चरम इन्धन संकटको कारण देखाउँदै सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ ।

श्रीलंकाको राजधानी कोलोम्बोबाट श्रीलंकाली सञ्चारकर्मी जोसेफ थाभाराजाले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै लामो समयसम्म विद्युत् कटौतीका कारण सरकारले कोलम्बो शहरको सीमामा रहेका सबै सरकारी र निजी विद्यालयका साथै अन्य प्रान्तका मुख्य सहरका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो ।थाभाराजाका अनुसार कोलोम्बोमा एक दुई दिनभित्र संकटकाल लाग्ने प्रबल सम्भावना छ । राष्ट्रपति गोटाबाया राजपाक्षेविरुद्ध विपक्षी दलहरूले मंगलबारदेखि बृहत् आन्दोलन शुरू गर्ने भएकोले उक्त आन्दोलन दबाउन संकटकाल लाग्नसक्ने उहाँको भनाइ थियो ।

श्रीलंकाका स्थानीय सञ्चारमाध्यमका अनुसार शिक्षा मन्त्रालयका सचिव निहाल रणसिंघेले विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले यातायातको कठिनाइले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई असर नगर्ने अवस्थामा डिभिजन स्तरका विद्यालयका कक्षा सञ्चालन गर्न दिइने पनि बताउनुभएको छ ।

उहाँले अनलाइन शिक्षणलाई सहज बनाउन साताको एक दिन बिहान ८ बजेदेखि १ बजेसम्म बिजुली कटौती नगर्न श्रीलंकाको पब्लिक युटिलिटिज कमिसन (पीयूसीएसएल) सहमत भइसकेको पनि बताउनुभएको छ । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र प्राप्त गरेपछि अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक संकट सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्