बैतडी आइपुग्यो १ लाख ६७ हजार मतपत्र



बैतडी  । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैतडीमा १ लाख ६७ हजार मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार १ लाख ६७ हजार मतपत्रसहितका निर्वाचनका लागि आवश्यक पर्ने सामग्री जिल्लामा पुगेको हो ।

यसका साथै सबै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै सहायक कर्मचारीसमेत तोकिएका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिने तयारी पनि भएको छ । मतदान कसरी गर्ने, समस्या आएमा सामाधान कसरी गर्नेलगायतका कानुनी व्यवस्थाका बारेमा जनाकारी दिन उनीहरुलाइ तालिम दिइने उहाँले बताउनुभयो । तालिमपश्चात् मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री दिएर मतदान केन्द्रमा पठाइनेछन् ।

बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३ सय ३६ वडा सदस्य गरी ४ सय ४० पदका लागि निर्वाचन हुँदै छ । यहाँ १ सय २९ मतदानस्थल र २ सय ५ वटा मतदान केन्द्र कायम गरिएका छन् । बैतडीमा १ लाख ४० हजार २ सय १ मतदाता रहेका छन् । निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्