गठबन्धनको प्रतिबद्धता : शिक्षा र विद्युत् निःशुल्क



लमजुङ । 

दोर्दी गाउँपालिकाका सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्न तथा उपभोक्ताका लागि निःशुल्क विद्युत् सेवा दिने प्रतिबद्धता जनाएको छ ।

गठबन्धनले स्थानीय तह निर्वाचन–२०७९ का लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख गरेको हो । शिक्षा क्षेत्रमा गाउँपालिकाका सामुदायिक विद्यालयमध्ये नमुना विद्यालय छनोट गरी प्रोत्साहन गरिने, शिक्षकहरूलाई बालमैत्री तालिमको व्यवस्था गरी शिक्षण सिकाइ प्रक्रियामा गुणस्तरी बताउने प्रतिवद्धता गठबन्धनले व्यक्त गरेको छ ।लमजुङको सबैभन्दा बढी विद्युत् उत्पादन हुने गाउँपालिकाका रूपमा परिचित उक्त दोर्दी गाउँपालिकाले २० युनिटसम्मको विद्युत् महसुल निःशुल्क गराउने जनाइएको छ । जलविद्युत् आयोजनाबाट आएको रोयल्टीबाट सो खर्च बेहोर्ने प्रतिवद्धतापत्रमा भनिएको छ ।

त्यस्तै, विद्युतीकरण र वैकल्पिक उर्जा, जलस्रोत तथा सिँचाइ पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि क्षेत्रतर्फ कृषिमा आधुनिकीरण, व्यावसायीकरण र प्रविधिको उपयोग गरी विकास गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । विपन्नलाई उत्पादनका साधन दिलाउने सामाजिक सुरक्षाको व्यवस्था गरिने, बैदेशिक रोजगारीमा जानेहरूका लागि न्यूनतम सीपमूलक तालिम दिने र विदेशबाट फर्केकालाई ज्ञान, सीपसम्बन्धी कार्यक्रम तय गरिने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रतर्फ ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घर–घरमै निःशुल्क स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवामा नागरिकको मौलिक हक सुनिश्चित गरिनेलगायतका प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्