– भगवती तिमल्सिना
दक्षिण एसियामा नै पहिलोपटक नेपालमा टाइफाइडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दरबार हाइस्कुल, रानीपोखरीमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई भ्याक्सिन क्यारियर हस्तान्तर गरी खोप लगाउने कार्यको उद्घाटन गर्नुभयो ।
यो खोप नेपालमा भित्र्याउने सम्बन्धमा सन् २०२० मा नै नेपाल सरकारले विश्व स्वास्थ्य संगठनमार्फत गाभीले खरिद गर्ने गरी सम्झौता भएको थियो । सम्झौतामा गाभीले भारतको बायोलोजिकल ई–लिमिटेडसँग खरिद गरी सन् २०२१ सम्म नेपाललाई उपलब्ध गराइसक्ने उल्लेख थियो ।
टाइफाइड के हो ?
टाइफाइड अर्थात् म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको.जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेष गरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको भेटिन्छ ।यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने, जिब्रोमा सेतो लेउ लाग्ने आदि लक्षण देखिन्छन् । कसै–कसैलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउनेजस्ता लक्षण पनि देखिन सक्छन् । यो रोगको संक्रमणपश्चात् केही व्यक्तिहरुमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने, मस्तिष्कसम्बन्धी समस्याजस्ता जटिलतासमेत देखा पर्न सक्छन् ।विकसित मुलुकमा टाइफाइड, झाडापखाला, हैजाजस्ता रोगव्याधिको चर्चा नै हुँदैन । नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रींलकाजस्ता विकासोन्मुख मुलुकमा खानेपानीको व्यवस्थापन राम्रो नभएकै कारण बेला–बेलामा निकै संकट निम्तिने गरेको छ ।
खोप लगाउने कार्यक्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत्र २४ गते दरबार हाइस्कुलमा टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेसँगै सो स्कुलका विद्यार्थीलाई खोपसमेत लगाइएको थियो ।टाइफाइडविरुद्धको खोप अभियान २०७८ चैत २५ गतेदेखि २०७९ वैशाख १८ गतेसम्म सञ्चालन हुने र यसअन्तर्गत १५ महिनादेखि १५ वर्षसम्मका बालिकाबालिकालाई खोप लगाइने भएको छ ।दरबार हाइस्कुलमा खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले ‘जसरी कोभिडविरुद्धको खोप लगाएर आमनेपाली लाभान्वित भए त्यसरी नै ७५ लाख बालबालिका टाइफाइडविरुद्धको खोप लगाएर रोगसँग लड्ने क्षमता विकास गरी स्वस्थ हुनेछन्’ भन्नुभयो । तर भारतमा उत्पादन गरिएको यो खोप हालसम्म भारतकै नागरिकलाई नलगाइएकाले यसको प्रभावकारिता र विश्वसनीयतामा प्रश्न पनि उठेको छ ।
नेपालमा टाइफाइडको खोपलाई नियमित खोपका रुपमा समावेश गरेसँगै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि १३ प्रकारको खोप प्रयोगमा ल्याइएको र अझै एउटा खोप छिट्टै थपिने प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभएको छ ।
टाइफाइडको खोप २४ दिनमा ५० हजार स्थान, विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय तथा सार्वजनिक स्थल, घरदैलो कार्यक्रमसमेत गरी ७५ लाख बालबालिकालाई दिने लक्ष्य सरकारको रहेको छ । हाल नेपालमा १ करोड मात्रा खोप भारतबाट ल्याइसकेको खोप शाखाका स्वास्थ्य अधिकारी सागर दाहालले जानकारी दिनुभयो ।
वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले सरकारको पहिलो प्राथमिकतामा परेको कोभिड–१९ विरुद्धको खोपजस्तै टाइफाइडविरुद्धको खोप अभियानले पनि सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो तर सो खोपको औचित्य र महत्वलाई भने स्पष्ट पार्नुभएन ।काठमाडौं स्वास्थ्य कार्यालयका अञ्जना खड्काले टाइफाइडविरुद्धको खोप सल्लाहकार सिमितिको सुझावका आधारमा राष्ट्रिय खोप अभियानमा समावेश गर्ने निर्णय भएको जानकारी गराउनुभएको छ । उहाँले नेपालमा ४ लाख ५० हजार मानिसलाई पानीजन्य रोग लाग्ने गरेको र ती रोगमध्ये टाइफाइड तेस्रो नम्बरमा रहेको जानकारी उहाँले गराउनुभयो । उहाँले पाटन एकेडेमी फर हेल्थले पाटन क्षेत्रमा गरेको अनुसन्धानमा एक लाख मानिसमा १ हजार ६२ जना टाइफाइडका बिरामी फेला पारेको र खोप लगाउनु उचित हुने सुझाव दिएको कारण खोप अभियान देशव्यापीरुपमा थालनी गर्ने सम्बन्धमा सरकारले सन् २०२० मै निर्णय लिएको जानकारी गराउनुभयो ।हाल भारतबाट ल्याइएको खोप नेपाल सरकारलाई गाभीले निःशुल्क उपलब्ध गराएको भए पनि व्यवस्थापन खर्च भने नेपाल सरकार आफैंले गरिरहेको छ ।
यतिचाहिँ बुझ्नै पर्छ
टाइफाइडविरुद्धको खोप लगाउनका लागि कोभिड खोप लगाएको १४ दिन पूरा हुनुपर्छ भने ज्वरो, गम्भीर रोग लागेको हुनुहुन्न । जस्तै– एचआईभी-एड्स, सिकिस्त बिरामी, कुनै औषधिको गम्भीर एलर्जी छ, गर्भवती महिला स्तनपान गराइरहेकी छन् भने पनि यो खोप लगाउनुहुँदैन । बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ । साथै साधारण बिरामी भएको अवस्था जस्तै– हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ । यो खोप १ मात्रा लगाए पुग्छ ।
खोप लगाएपछि केही समस्या देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । खोप अभियानका लागि २४ दिन तोकिए पनि नजिकिएको निर्वाचनलाई समेत ध्यानमा राखी काठमाडौंभित्र वैशाख ८ गतेसम्ममा खोप कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको स्वास्थ्य कार्यालय, काठमाडौंले जानकारी दिएको छ ।टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात–गोडा तथा जोर्नीहरु दुख्नेजस्ता सामान्य असर हुन सक्छन् । यस्ता सामान्य असरहरु बिस्तारै आफैं ठीक भएर जान्छन् । खोप लगाएपश्चात् यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्ने सम्बन्धित चिकित्सकले बताएका छन् ।