यातायात मन्त्रालयको निर्णय व्यवसायीको पक्षमा देखियो



भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले २० बर्से पुराना गाडीको स्क्र्याब गरेको नम्बर प्लेटमा विद्युत्बाट चल्ने नयाँ ट्याक्सी किनेर दर्ता गर्न दिने निर्णय गरेको छ । मन्त्रालयले सट्टापट्टामा पेट्रोलबाट चल्ने ठाउँमा विद्युत्बाट दिने तयारी भएको जनाएको छ ।
मन्त्रालयका सचिव नेत्र सुवेदीले पुराना, थोत्रा र २० वर्ष नाघेका ग्यास ट्याम्पो, माइक्रोबस र ट्याक्सीको स्क्र्याब गरेको नम्बर प्लेटमा विद्युतीय ट्याक्सी दिने निर्णय भएको बताए । नयाँ ट्याक्सीको दर्ता खोलेर सिन्डिकेट तोड्नुपर्ने बेलामा मन्त्रालयले यातायात व्यवसायीको पक्षमा निर्णय गरिदिएको छ ।मन्त्रालयले नयाँ दर्ता खोल्नुको साटो फेरि पनि स्क्र्याब गरेको नम्बर प्लेटमा ट्याक्सी दिन लागेको हो । जसको कारण फेरि पनि ट्याक्सी व्यवसायीको विकृति मौलाउने देखिन्छ । नयाँ ट्याक्सीको दर्ता नखोलिदिँदा यात्रु ठगिने क्रमको अन्त्य नहुने भो । त्यसै गरी, राज्य पनि राजस्वविहीन हुन्छ । सरकारले नयाँ ट्याक्सीको दर्ता नखोल्दा नम्बर प्लेटकै मूल्य १२ लाख रुपियाँ पर्छ ।

हाल बजारमा एउटा ट्याक्सी किन्न पहिल्यै ३२ लाख रुपियाँ जुटाउनुपर्छ । महँगोमा ट्याक्सी किनेपछि आफ्नो लगानी उठाउन र नाफा कमाउन यात्रु ठग्नु स्वाभाविकै हो । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्ने हो भने नम्बर प्लेट सित्तैमा पाउँछन् । जसले गर्दा ट्याक्सीको मूल्य २० लाख रुपियाँ पर्न जान्छ । ट्याक्सीको मूल्य सस्तो पर्नेबित्तिकै यात्रुलाई भाडा पनि सस्तो पर्न जान्छ ।यता, नयाँ व्यवसाय पनि भित्रिन पाउँछन् । मुलुककै स्वरोजगार भन्नेले सजिलै रोजगारीको अवसर पाउनेछन् । ट्याक्सीको संख्या बढ्छ भने यात्रुले आवश्यकता परेको बेलामा ट्याक्सी पाउँछन् । यो सुविधा भने उपत्यकाभित्र र बाहिर दुवैको हकमा लागू हुनेछ । ३८ वर्षअघि अटो शोरुमसँग गाडी किनेर ट्याक्सीमा दर्ता गरेका व्यवसायीले आफैँले चलाएर, भाडामा लगाएर दुई करोडभन्दा बढी कमाइसके ।

मन्त्रालयको अहिलेको निर्णयले फेरि पनि एउटै व्यक्तिले २० वर्ष व्यवसाय गर्ने देखिन्छ । पहिलेको ३८ वर्ष र अबको २० वर्ष गरेर ५८ वर्ष एउटै व्यक्तिले व्यवसाय गर्छ । तर, ट्याक्सीको संख्या बढ्दैन, जनसंख्या बढेर कहाँ पुगिसक्छ । गत वैशाख १ गतेदेखि ट्याक्सी भाडा बढाइएको छ । चढ्नेबित्तिकै फ्लगडाउनबापत ५० रुपियाँ तिर्नुपर्छ । त्यस्तै, प्रत्येक किलोमिटर ५० रुपियाँ तोकिएको छ ।राति ९–६ बजेसम्म भाडा र फ्लगडाउन दुवैको डेढीसहित ७५ रुपियाँ निर्धारण गरिएको छ । दैनिक पाँच करोड रुपियाँ कुनै सेवासुविधा नै नलिईकन यात्रुले तिरिरहेका छन् । न ट्याक्सीको पेट्रोल खर्च भएको हुन्छ, न यात्रुले कुनै सेवासुविधा पाएका हुन्छन् । यहाँबाट पनि यात्रु नै लुटिइरहेका छन् ।

२०४३ सालमा डेढ लाखमा विक्रम ट्याम्पोको दर्ता खुलाइएको थियो । यसले प्रदूषण ग-यो भनेर २०५६ भदौ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विस्थापन गर्ने र पूरै भ्याट र भन्सार छुट दिएर अर्को गाडी दिने निर्णय ग-यो । यो बीचमा विक्रम ट्याम्पोले ५०–६० लाख आम्दानी गरिसकेको थियो । त्यसको सट्टा दर्तामा ४० लाख पर्ने डिजेल माइक्रोबस र ग्यास माइक्रोबस २० लाखमा ल्याए ।२३ वर्ष गुडिसकेको माइक्रोबसले १० करोडभन्दा बढी आम्दानी गरिसक्यो । अब फेरि पनि उही नम्बर प्लेटमा ट्याक्सी दिने हो भने अरु जनतामाथि अत्याचार हुन्छ । भन्सार र भ्याट पूरै छुट दिएर तीन लाख पर्ने ग्यास ट्याम्पोलाई डेढ लाखमा दिइएको थियो । २०५० सालमा डेढ लाखमा किनेको ट्याम्पोले अहिले तीन करोडभन्दा धेरै रकम कमाइसक्यो ।

एउटै व्यक्तिले सम्पत्ति जोडेको जोड्यै छ, अरु हेरेको हे-यै ।ट्याक्सी व्यवसायीको एउटै योजना आफू मात्र व्यवसाय गरिरहने । ट्याक्सीमा भएको एकाधिकार कुनै पनि हालतमा तोड्न नदिने । नयाँ ट्याक्सीको दर्ता खोल्न नदिने । आफू मात्र कमाइरहने, राज्यलाई राजस्व पनि नतिर्ने । प्रदेश सरकारले तुरुन्तै नयाँ ट्याक्सीको दर्ता खोलिदिनुपर्छ । २० बर्से पुराना ट्याक्सीको सट्टा दर्तामा नयाँ ट्याक्सीको दर्ता गर्ने काममा प्रतिबन्ध लगाउनुपर्छ ।२०७२ जेठ २८ गते सरकारले १८५० नयाँ ट्याक्सीको दर्ता खोलेको थियो । यातायात कार्यालय र यातायात व्यवस्था विभागले सोही वर्ष साउन २० गतेदेखि १५ दिने सूचना जारी गरेको थियो । १८५० ट्याक्सी किन्नको लागि १ हजार १० रुपियाँ राजस्व तिरेर १५ हजार ७ सय ७१ जनाले फाराम बुझाए । तर, तोकेको जतिले गोलाप्रथाबाट ट्याक्सी पाए, अरुको दुःख खेर गयो ।

त्यसै गरी, १४ जिल्लाका भूकम्पपीडितलाई लक्षित गर्दै २०७२ चैत २१ गते १५०० ट्याक्सीको दर्ता खोलियो । २०७३ साउन ५ देखि भदौ ५ गतेसम्म एक महिने सूचना जारी गरियो । १ सय १० रुपियाँ राजस्व तिरेर १ लाख ४९ हजार ५ सय ५८ जनाले फाराम बुझाए । तर, १५०० बाहेक अरुले ट्याक्सी पाएनन् । यो दुईवटा उदाहरणले ट्याक्सी किनेर व्यवसाय गर्ने रहर भएका व्यक्तिहरुलाई जनाउँछ ।
२०५७ जेठ १७ गते बागमती अञ्चलमा ट्याक्सीको दर्ता बन्द भयो । ट्याक्सीको दर्ता बन्द हुने बेलामा जम्मा ७ हजार ५ सय ट्याक्सी थिए । तीमध्येमा ५ हजार ६ सय ५० पेट्रोलबाट चल्थे भने १ हजार ८ सय ५० डिजेलबाट चल्थे । आएको डेढ वर्षमै डिजेलबाट चल्ने ट्याक्सी विस्थापित भए । २०५७ सालपछि बागमती अञ्चलमा जनसंख्या ह्वात्तै बढ्यो । तर, ट्याक्सीको संख्या घट्यो । २०६९ सालमा यातायात अञ्चल कार्यालय, एकान्तकुनाले ५ हजार नयाँ ट्याक्सीको आवश्यकता छ भनेर माग गरेको थियो ।

ट्याक्सीले सेवासुविधा दिन नसकेको र अपुग भएको बताउँदै नयाँ ट्याक्सीको माग गरिएको थियो । त्यस्तै, वर्षैपिच्छे नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्नेमा कार्यालयको जोड थियो । ट्याक्सीको परमिट उपत्यकामा मात्र छ तर बागमती प्रदेशमा १३ वटा जिल्ला छन् ।उपत्यकाबाहिरका जनताले मर्दा र पर्दा पनि ट्याक्सी चढ्न पाएका छैनन् । अन्य जिल्लामा पनि ट्याक्सीको दर्ता बन्द छ । २०५० सालदेखि एयरपोर्टमा हरियो प्लेटको ट्याक्सीको नयाँ दर्ता खोलिएको हुन्छ । त्यहाँ जम्मा २ सय ७ वटा ट्याक्सी छन् । तैपनि, त्यसमा मिटर जडान गरिएको छैन । विदेशी र स्वदेशी दुवैलाई उनीहरुले सक्दो ठगिरहेका छन् । ट्याक्सी व्यवसायीहरु आफू पनि सस्तोमा सेवासुविधा नदिने ? बाटो कब्जा गरेर जनता ठगिरहने ? यसको अन्त्य कहिले र कसले गर्ने ?

सरकारले कि नयाँ ट्याक्सीको दर्ता खोलिदिनुप-यो । होइन भने मिटरजडित, तीन पाङग्रे फोस्टक ट्याम्पो सञ्चालनमा ल्याउनुप¥यो । ट्याक्सी नजाने ठाउँमा फोस्टक ट्याम्पो जान्छ । यो ट्याक्सीको ठगी धन्दा रोक्ने एकमात्र विकल्प हो । ट्याक्सीले छोडेकोलाई ट्याम्पोले बोक्छ । विद्युत् वा पेट्रोल जेबाट चल्ने भए पनि यसको तत्कालै दर्ता खोल्न आवश्यक देखिन्छ । फोस्टक ट्याम्पो किनेर प्रतिकिमि १२ रुपियाँमा चलाउँछु, सेवाशुल्क लिन्न भन्दा पनि सरकार सुन्दैन । हुनेखाने ट्याक्सी चढ्थे, हुँदा खाने ट्याम्पो । यसबाट धेरै नेपालीले रोजगारी पाउने देखिन्छ ।

– अनुसा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्