रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने


लन्डन, (एजेन्सी)

विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ४१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने औपचारिक घोषणा गरेका छन् ।

सन् २००३ को अगस्टमा सुरु भएको उनको २३ वर्ष लामो ऐतिहासिक राष्ट्रिय टोलीको यात्रा आगामी नोभेम्बरको अन्तर्राष्ट्रिय खेल विश्रामसँगै पूर्ण रूपमा अन्त्य हुँदैछ । जसले विश्वभरका करोडौँ फुटबलप्रेमीलाई भावुक बनाएको छ । अब उनी आफ्नो प्रसिद्ध सात नम्बरको जर्सी नयाँ पुस्तालाई सुम्पिँदै पोर्चुगलको जर्सीबाट सधैंका लागि बिदा हुँदैछन् । आफ्नो लामो करियरमा रोनाल्डोले यस्ता कीर्तिमान रचेका छन् जसलाई तोड्न आगामी पुस्ताका खेलाडीलाई समेत निकै कठिन हुनेछ ।

पोर्चुगलका लागि कीर्तिमानी २३४ म्याच खेल्दै १४६ गोल गरेका उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक म्याच खेल्ने र सबैभन्दा बढी गोल गर्ने कीर्तिमानी खेलाडी हुन् । उनको यो अतुलनीय योगदानकै कारण पोर्चुगलले सन् २०१६ को युरोपियन च्याम्पियनसिप तथा सन् २०१९ र २०२५ को नेसन्स लिगको उपाधि चुम्न सफल भयो । विशेषगरी सन् २०१६ को युरोपियन च्याम्पियनसिपको फाइनलमा चोटका कारण मैदान छाड्नुपरे पनि उनले टचलाइनबाट सहकर्मीहरूलाई उत्साहित गर्दै दिएको साथ उनको फुटबल जीवनकै सबैभन्दा अविस्मरणीय क्षणहरूमध्ये एक बनेको छ ।

संन्यासको घोषणासँगै भावुक बनेका रोनाल्डोले सात नम्बरको जर्सी कहिल्यै आफ्नो मात्रै नभएको र दुई दशकभन्दा लामो समयसम्म यसलाई लगाएर देशको प्रतिनिधित्व गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको बताएका छन् । उनले भनेका छन्, ’गोलहरू हराउँदै जान्छन्, ट्रफीहरू संग्रहालयमा थन्किन्छन् र कीर्तिमानहरू एक दिन तोडिन्छन्, तर मानिसहरूको हृदयमा हामीले बनाएको स्थानलाई समयले कहिल्यै मेटाउन सकिंदैन ।’ उनका अनुसार यदि उनका गोलहरूले कसैको मुहारमा खुसी ल्याएको छ, कसैको चिन्ता भुलाएको छ वा आफ्नो देशप्रति गर्व गराएको छ भने उनको सम्पूर्ण खेल जीवनको मेहनत सार्थक भएको छ ।

केहि महिनाअघि सम्पन्न सन् २०२६ को विश्वकपलाई आफ्नो अन्तिम विश्वकप बताएका रोनाल्डोले उक्त प्रतियोगितामा पनि पोर्चुगलका लागि तीन गोल गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका थिए । यद्यपि, अन्तिम १६ को रोमाञ्चक खेलमा स्पेनसँग १–० ले पराजित भएसँगै विश्वकपको उपाधि उचाल्ने उनको अन्तिम सपना भने अधुरै रहन पुग्यो । राष्ट्रिय टोलीबाट बिदा लिने भए पनि क्लब फुटबलमा उनको यात्रा भने जारी रहनेछ ।