अक्सिजन प्लान्टमा भएको विस्फोटमा दुईजनाको मृत्यु

विस्फोटको छानबिन गर्न गृहमन्त्री खाँणको निर्देशन



काठमाडौं ।

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार बिहान १० बजेतिर भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार विस्फोटमा परी भारतका ४५ वर्षीय वृजमोहन महत्तोको घटनास्थलमै मृत्यु भएको र भारतकै २५ वर्षका राजकुमार महतोको बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य पाँच जना पाटन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । विस्फोट अक्सिजन भर्ने क्रममा भएको बताइएको छ ।

यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिनुभएको हो । प्लान्टमा कार्यरत अन्य श्रमिकलाई प्रहरीले उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्