स्वस्थ सहरबारे बहस गर्नु किन जरुरी छ ?



काठमाडाै‌ं ।
जन्मनु र मर्नु प्राकृतिक प्रक्रिया भए तापनि गुणस्तरीय जीवन स्वास्थ्यको ज्ञान बिना परिकल्पना गर्न सकिँदैन। स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मानिसको मौलिक अधिकार पनि हो । यही स्वच्छ तथा सफा वातावरण मानव जीवनका लागि अत्यावश्यक तत्त्व हो ।  १९९० को राजनीतिक परिवर्तनभन्दा अघि स्वास्थ्यबारे हुने लेखन तथा बहसहरू दुर्लभ नै थिए । स्वास्थ्य नीतिबारे औपचारिक दस्ताबेज बनेको थिएन।  सन् १९९० पछि मात्रै स्वास्थ्य नीति, योजना तथा समस्याहरूबारे आलोचनात्मक छलफलको सुरुआत हुन सक्यो ।
अब नेपालमा ३ तहका सरकारले नै स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकार र दायित्व नेपालको संविधान २०७२ द्वारा प्रदत्त गरिएको छ। समाजको समृद्धिको सूचकका रूपमा समेत स्वच्छ तथा स्वस्थ वातावरणलाई लिइन्छ तर बढ्दो सहरीकरण, भौतिक विकास तथा अन्य विभिन्न मानवीय प्रभावका कारण स्वस्थ र सफा वातावरण दिन प्रतिदिन बिग्रँदो अवस्थामा छ । जसमा प्रत्यक्ष सरोकारको आधारभूत स्वास्थ्य सेवा स्थानीय तहलाई अधिकारको रूपमा सुम्पिएको पाइन्छ के स्थानीय तहले स्वास्थ्यलाई आफ्नो विकासको एजेन्डा को रूपमा स्वीकार गरेको छ त ?
विश्वका कयौँ  सहरहरू छन् जसले नागरिकको स्वास्थ्यलाई विकासको एजेन्डाको रूपमा स्वीकार गर्दै आफूलाई अब्बल साबित गरेका छन्। के हामी सहयोगी संस्थाको सहयोग र तिनै तहका सरकार मिलेर स्वस्थ सहर बनाउन र नागरिकको स्वस्थ जीवन जिउने अधिकार सुनिश्चित गर्नुका साथै नेपालका प्रमुख सहरहरूलाई पर्यटनको गन्तव्य बनाउन सक्छौ।

जापानको प्रमुख सहरहरू मध्यको एक ओकिनवा सहर हो । ओकिनवामा सहरमा सय वर्ष भन्दा बढी बाँच्ने मानिसहरूको धेरै सङ्ख्या छ । तर पनि यहाँ मुटुसम्बन्धी रोग, मधुमेह क्यान्सर जस्ता रोगहरूको जोखिम निकै नै कम देखिन्छ । आर्थिक रूपले सामन्य भएपनि यहाँका व्यक्तिहरुको जीवनशैली भने गुणात्मक रूपले राम्रो छ । जसले गर्दा बुढ्यौली  समयमा पनि स्वस्थ जीवन बाँच्न सकिन्छ भन्ने तथ्यको यस सहरले उदाहरण  प्रस्तुत गरेको छ। हाम्रो जनसंख्याको अवस्था हेर्दा जेष्ठ नागरिकको सङ्ख्या बढ्दो छ। यसको स्वास्थ्य रक्षा र उत्पादकत्व बारेमा बहस चलाउँदा लाग्छ यो बहस सर्वजनहिताय नै ठहर्छ।

त्यस्तै फ्रान्सको मोनाकोमा सहरको स्वास्थ्य मन्त्रालयले यस सहरमा गर्भावस्थामै बच्चाको राम्रो निगरानी, सुत्केरी गराउने दक्ष विशेषज्ञ र बच्चाको राम्रो स्याहार गर्ने परम्पराको विकाश गरेको छ ।यो विश्वमै नवजात शिशुको कम मृत्यु हुने सहर हो । यहाँ १००० नवजात शिशुको जन्ममा जम्मा १।८१ मात्र मृत्यु दर रहेको पाइन्छ । हाम्रो जस्तो नवजात शिशु मृत्युको कहाली लाग्दो अवस्थामा कहिले सम्म रहने यो क्षेत्रमा रचनात्मक कार्य योजनाका साथ काम गर्न सकेमा नमुनाको रूपमा  सहरलाई विकास गर्न सकिन्छ।

धेरै बाक्लो बस्तीका बाबजुद क्यानडाको भ्यान कुभर सहर स्वास्थ्यकर क्यानेडियन सहर बनेको यस सहर, सन् २०२० सम्ममा हरियो सहर योजनामा छ। यो सहर विश्वमै स्वच्छ हावा र स्वस्थ वातावरण प्रख्यात सहर हो । कडा सरकारी नियम सहर लाही स्वस्थ राख्न भरपुर प्रयत्न गरेको छ । नीतिको निर्माण मात्र हैन प्रभावकारी कार्यान्वयनले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिन्छ भन्ने नमुना यहाँबाट पाउन सकिन्छ। स्थानीय सरकारले स्वास्थ्य नीति निर्माणको साथै त्यसको कार्यान्वयन बाट स्वास्थ्यमा गर्न सकिने अन्य प्रशस्त कार्यहरू रहेका छन् ।

विश्वका सहरहरूको स्वास्थ्य नीतिहरूको अध्ययन तथा आफ्नो परिवेशलाई समायोजन गरी उपयुक्त नीति सहित अगाडि नबढ्ने हो भने स्वास्थ्य क्षेत्र अगाडी जान सक्दैन। बेला बेलाका महामारी नियन्त्रण मात्र हैन नसर्ने रोगका बढ्दो चपेटाले थला परेको स्वास्थ्य प्रणालीको सुधारमा अब गहन छलफल तथा बहस पैरवीका साथ विशेष योजनामा कार्य गर्नु पर्दछ। यसको लागि स्वालस्वाल होस वा प्रजनन स्वास्थ्य, मातृ स्वास्थ्य होस वा पोषण तथा मानसिक स्वास्थ्य सबै महत्त्वपूर्ण क्षेत्रको ख्याल गर्दै स्वस्थ सहर अभियान सञ्चालन गर्नु आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस्